काठमाडौँमा आज प्रचण्ड-नेपाल समुहको शक्ति प्रदर्शन, प्रदेश २ बाट पनि पुगे सयौँ बस नेता कार्यकर्ता
टुडेपाटी–
जनकपुरधाम, माघ ९ गते ।
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दैछ।
नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाखभन्दा बढीको संख्यामा कार्यकर्ता उतार्न दावी गरेको छ। त्यसका लागि प्रदेश २ का आठवटै जिल्लाबाट सयौँ बस, जिप लगायतका गाडीमा काठमाडौँ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध यसअघि नेकपाले गत पुस १४ गते पनि उपत्यकामा प्रदर्शन गरेको थियो।
प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष समितिका संयोजक योगेश भट्टराईका अनुसार उपत्काका विभिन्न ९ स्थानबाट जुलुस निकाल्न लागिएको हो।
Sponsored
ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन्।
अहिले जलुस सुरु हुने स्थानमा कार्यकर्ताहरु जम्मा हुन थालिसकेका छन्।
बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुने र त्यसपछि सभामा परिणत हुने नेकपाले जनाएको छ।
जुलुस सुरु हुनु अगाडि नै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ।
ट्राफिकले अहिले उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेश नदिँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको छ।
त्यस्तै जुलुस सुरु हुन थालेसँगै काठमाडौँको माइतीघर, त्रिपुरेश्वर, पुतलीसडक, प्रदर्शनी केन्द्र, रत्नपार्क जमल आसपासको ट्राफिक अस्तव्यस्त बनेको हो।