अफगनिस्तान : दुई न्याययाधिशको गोली हानी हत्या, पत्रकार र उच्च पदस्थ व्यक्ति आतंकीको निशानामा
एजेन्सी
जनकपुरधाम, माघ ५ गते ।
अफगान सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या भएको छ ।
राजधानी काबुलमा गोली दुबै महिला न्यायाधिशको गोली प्रहार गरी हत्या गरिएको हो ।
अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ ।
पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमण भइरहेका छन् । हत्यामा संलग्नले राजधानी काबुलसहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी २ हजार ५ सयमा सीमित गर्ने घोषणा गरेको २ दिन नबित्दै पछिल्लो आक्रमण भएको छ ।
दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आइतबार बिहान आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए । ‘दुर्भाग्यवस, आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौँ । उनीहरूका सवारी चालक घाइते भए पनि सकुशल छन् ।’
Sponsored
हालैका महिनामा राजनीतिकर्मी, पत्रकार, अधिकारवादी, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीलाई लक्षित गरी काबुल र अन्य शहरमा दिनदहाडै सिलसिलावद्ध आक्रमण भइरहेका छन् ।
अफगान अधिकारीले ती आक्रमण तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन् तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । कतिपय हत्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ ।