महोत्तरीका मिटरब्याजी अनुरुद्धको ठगीबाटै ८० बिघा जग्गा, १२ करोडभन्दा बढी ऋण लगानी
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, माघ ३ गते ।
महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका मिटरब्याजी अनुरुद्ध साहले मिटरब्याज, बेइमानी, ठगी र जलसाजीबाटै अकुत सम्पत्ति अार्जन गरेको खुलासा भएको छ ।
वि.स.२०६३ सालसम्म सगोल परिवारमा मात्र पाँच विघाजग्गाको मालिक रहेका अनुरुद्ध झण्डै डेढ दशकमा अर्बपति बनेका छन् ।
विभिन्न सहर र गाउँका घरघडेरी, खेत गरी अनुरुद्धले अहिलेसम्म ८० बिघा जग्गा जोडेको उनकी पत्नी संगीता साहले खुलासा गरेकी छन् । संगीताको अनुसार अनुरुद्धले १२ करोड रुपैयाँभन्दा बढी रकम मिटरब्याजमा लगानी गरेका छन् ।
‘ २०५५ सालमा हाम्रो विवाह हुँदा अनुरुद्धको सगोल सम्पत्तिको नाममा ५ बिघा मात्र जग्गा जमिन थियो । विवाहको केहि समय पश्चात् अनुरुद्ध सक्रिय रुपमा चर्को ब्याजदरमा कयौं गुणा बढीको तमसुक बनाएर ऋण लगानी, ठगी, बेइमान जस्ता धन्दा गर्न थाले’ संगीता भन्छिन् ‘ त्यही धन्दाबाट कम समयमै गरिबहरुलाई लुटेर, ऋणीलाई रुवाएर, अदालतमा मुद्दा गरी बेइमानी, ठगी गरेर ८० विघा जग्गा र १२ करोडभन्दा बढी ऋण लगानीका मालिक बनेका छन् ।
अर्जेको जग्गा र तमसुक अनुरुद्धले आफ्ना आमा पार्वती देवी साह, दाइ लक्ष्मण साह, भाउजू बन्दना साह, फूपू सासू लक्ष्मीनियाँ साहको नाममा बनाएको संगीताले खुलासा गरिन् ।
यस्तै अनुरुद्धले हालै भंगहा नगरपालिकामा आमा पार्वतीको नाममा क्रसर उद्योग पनि सञ्चालन गरेका छन्।
Sponsored
संगीताका अनुसार अनुरुद्धले जग्गा दाइ लक्ष्मण, आमा पार्वती, फूपू सासू लक्ष्मीनियाँ, भाउजू वन्दना लगायतका नाममा राखेका छन् । उनको नाममा भने १४ बिघाभन्दा केही बढी मात्र राखेको संगीताले बताइन् । दाइ, आमा, भाउजूलगायतका नाममा प्रतिव्यक्ति १० बिघाभन्दा बढी जग्गा रहेको संगीताको दाबी छ।
‘सम्पत्ति शुद्धीकरण भए फस्ने डरले अनुरुद्धले सबै काम/कारबाही आफ्नै नाममा गर्दैनन्। ऋण लगानीका साथै जग्गा/जमिन खरिद/बिक्री आफ्ना दाइ, आमा, भाउजू, फूपू सासुलगायतका नाममा गर्ने गरेका छन्,’ संगीताले भनिन्।
ऋण लगानी गर्दा ५ गुणादेखि २४ गुणासम्म बढीको तमसुक गराउने, अगाडिको मिति लेखाउने, ऋणबिनै पनि तमसुक बनाउने, अदालतमा मुद्दा दायर गरेर गरिबका घरघडेरी लिलाम गरिदिने, लिएको पैसाको भर्पाई नदिने, ऋणी महिलालाई यौन सम्बन्ध राख्न दबाब दिने, अन्य मिटरब्याजीबाट सस्तोमा कपाली तमसुक किनेर मुद्दा लडी गरिबको उठिबास गरिदिने जस्तो धन्दा अनुरुद्धले गरिरहेको तथ्य सार्वजनिक भइसकेको छ ।
उनीबाट उनको गाउँसहित वरपरवका धेरै व्यक्ति शोषण र अन्यायमा परेका छन्।
अनुरुद्ध साहबारे अनुसन्धान भए उनी जेल जाने निश्चित रहेको स्थानीयको दाबी छ। अनुरुद्धको बेइमानी, ठगी जालसाजी, ऋणी तथा स्त्रीसंग अनैतिक सम्बन्ध जस्तो धन्दा सुरु गर्दा श्रीमती संगीताले त्यस्तो कामहरु नगर्न अाग्रह गरेकी थिइन् । सोही कारण अनुरुद्धले जथाभावी कुटपिट, घरनिकाला जस्ता यातना सहन नसकी संगीता प्रताडित भएकी छन् ।
पति अनुरुद्धको यातनाबाट विस्थापित संगीता हाल महोत्तरीको बलबा नगरपालिका सरपल्लो स्थित माइतमा १० वर्षीया छोरीसहित ८ वर्षदेखि शरण लिएकी छन् ।