महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
टुडेपाटी-
जनकपुरधाम, माघ १ गते ।
अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभा–महोत्तरी ४ सय केभी विद्युत प्रसारण लाइन निर्माणको काम प्रारम्भ भएको छ ।
संखुवासभाको खांधवारीदेखि महोत्तरीको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म ४ सय केभी प्रसारण लाइन निर्माणको बिहिवार भंगहा नगरपालिकादेखि प्रारम्भ भएको हो ।
भंगहा नगरपालिका ३ स्थित १३ नम्बर टावरको महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले शिलान्यास गरेपछि प्रसारण लाइन निर्माण कार्यको प्रारम्भ भएको छ ।
संखुवासभा–महोत्तरी ४ सय केभी प्रसारण लाइनमा जम्मा ८६ वटा टावर निर्माण हुनेछ ।
भङहाबाट सुरु गरिएको यस परियोजनाको यो पहिलो शुरुवात हो । यो परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठुलो फड्को मार्ने विश्वास लिइएको छ ।
Sponsored
शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोगी सावित हुने बताए । उनले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी बिमलीले शिलान्यास गरेको सो टि.एल.टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।