कोरोनालाई मध्यनजर गर्दै जनकपुरधाममा मास्क लगाएर होली मनाउने
टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।
विश्वभरी कोरोना भाइरसको भय बढेपछि यस पटक जनकपुरधाममा रहेको मिथिला नाट्यकला परिषद (मिनाप) ले मास्क लगाएर होली मनाउने भएको छ ।
प्रशासनले भिडभाड हुने गरि कुनै ठूलो कार्यक्रम नगर्न भने पनि होली पर्वलाई मास्क लगाएर मनाउने निर्णय मिनापले गरेको हो ।
होली महोत्सव र महामुर्ख सम्मेलनको तयारी सम्बन्धमा शनिबार पत्रकार सम्मेलन गर्दै मिनापका अध्यक्ष परमेश झाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सामान्य ढंगले सुरक्षात्मक उपायसहित होली मनाइने बताए ।
कार्यक्रमस्थलमा उपस्थित सबैजनालाई मास्क वित्तरण गर्ने र अविरको सट्टा फूलको प्रयोग गरेर होरी महोत्सव एवं महामूर्ख सम्मेलन मनाउन थालिएको उनले बताए ।
आईतबार डम्फा वादनबाट उदघाटन गरिने कार्यक्रममा होरीमाथि चर्चा परिचर्चा, निश्चित मापदण्ड अनुसार होरी गायन, उत्कृष्टको चयन र पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।
कार्यक्रमको दोश्रो दिन विशिष्ट शैलीमा उद्घाटन गरि होरी गायन, मिनापको हास्य शैलीमा व्यङ्गपूर्ण नाट्क प्रस्तुति, हास्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधि वितरण, मूर्ख महामूर्खलाई सम्मानसँगै समापन गरिने अध्यक्ष झाले जानकारी दिए ।
Sponsored
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।