TodayPati

धनुषामा १ अर्ब ८० करोडको लगानीमा कृषि फर्म संचालन हुँदै, ठूलो संख्यामा रोजगारी पाइने


टुडेपाटी

जनकपुरधाम, पुस २४ गते

कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यकासाथ धनुषामा १ अर्ब ८० करोड लगानीमा जनकपुर एग्रो फार्म सञ्चालन हुने भएको छ ।

Sponsored

धनुषाधाम नगरपालिकामा अन्डा पार्ने लेयर्स कुखुराको फार्म एक वर्षभित्र सञ्चालनमा आइसक्ने सञ्चालक शोभकान्त ढकालले जानकारी दिए ।

उनका अनुसार यो फार्ममा ६ लाख कुखुराबाट दैनिक ५ लाख अन्डा उत्पादन हुनेछन् । जनकपुरमा कुखुरा फार्मसँगै बायोग्यास, बोटलिङ प्लान्ट र अर्गानिक मल पनि उत्पादन हुनेछ । उनी भन्छन्, ‘दैनिक २ सय ५० देखि ३ सय सिलिन्डर बायोग्यास र २५ टन अर्गानिक मल उत्पादन हुनेछ ।’

यो कृषि फार्ममा कृषि विकास बैंकको अगुवाइमा कर्जा प्रदान हुनेछ । सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैंकसमेत समावेश हुने उनले बताए । कर्जा लगानीका लागि बैंक र एग्रो फार्मबीच सम्झौता भइसकेको छ ।

Sponsored

व्यवसायी खुमा अर्याल, शोभकान्त ढकाल, भेषराज अर्यालसहितको समूहले जनकपुरमा ठूलो लगानीमा कुखुरा फार्म सञ्चालन गर्न लागेको हो । एक वर्षभित्र आंशिक रूपमा र दुई वर्षभित्र फार्म पूर्ण क्षमतामा सञ्चालनमा आइसक्नेछ ।

फार्मभित्रै दाना उद्योग पनि खुल्नेछ । यो समूहले स्याङ्जाको खिलुङ देउरालीमा पनि अत्याधुनिक एग्रो फार्म सञ्चालन गरिरहेको छ ।

स्याङ्जाको फार्मबाट दैनिक २ लाख अन्डा उत्पादन भइरहेको उनले बताए । यो फार्ममा पनि लगानी ८० करोड रुपैयाँ हाराहारी पुगिसकेको उनको भनाइ छ ।

कृषि फर्म संचालनमा आइसकेपछि यी क्षेत्रमा बेरोजगारी समस्या समाधान हुनुकासाथै कृषिमा आत्मनिर्भर बन्न टेवा पुग्ने बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *