साउदी राजपरिवारका तीन उच्च सदस्य पक्राउ
एजेन्सी
जकपुरधाम, फागुन २४ गते ।
साउदी अरेबियाको राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । साउदी अरेबियाका अधिकारीले उनीहरुलाई नखुलाइएको कारणका कारण राजाका भाइसहित तीनजालाई पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
पक्राउ परेका मध्ये दुईजना राजाको निकै नजिक रहेका व्यक्ति हुन् । राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्नका लागि युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको बताइएको छ ।
सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्यहरु, मन्त्री तथा व्यवसायीहरुलाई रियादको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएको थियो । त्यसका लागि पनि क्राउन प्रिन्स एमबिएसले आदेश दिएका थिए ।
क्राउन प्रिन्स एमबिएसलाई साउदी अरेबियाको वास्तविक शासकका रुपमा लिइन्छ । सन् २०१६ मा साउदी अरेबिया राजा सलमानले उनलाई युवराज घोषित गरेपछि सत्ताको वास्तविक नियन्त्रण उनमा सरेको हो ।
राजपरिवारका उच्च सदस्यहरुलाई शुक्रबार बिहान पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले उल्लेख गरेका छन् ।
पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।
Sponsored
सन् २०१७ मा क्राउन प्रिन्स एमबिएसको निर्देशनमा ‘हाउस अरेस्ट’ हुनु पूर्वसम्म मोहम्मद बिन नायेफ आन्तरिक मामिला मन्त्री थिए ।
कालो लुगका लगाएका तथा अनुहारमा मास्क लगाएका व्यक्तिहरुले शुक्रबार बिहानै राजपरिवारका सदस्यहरुको घरमा गएर उनीहरुलाई पक्राउ गरेको तथा उनीहरुको घरमा खानतलासी गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
क्राउन प्रिन्स एमबिएस सुधारवादी देखिएका छन् । उनको सो ‘इमेज’ का लागि विश्वव्यापी प्रशंसा भयो, उनले महिलाहरुलाई चालक अनुमति दिनेसहितका निर्णय गरेका थिए ।
तर सन् २०१८ मा टर्कीको स्थानबुलमा पत्रकार जमाल खाशोग्गीको हत्यासहितका विभिन्न ‘स्क्याण्डल’ बाट एमबिएसको अन्तर्राष्ट्रिय रुपमा गम्भीर आलोचना हुँदै आएको छ ।