TodayPati

महोत्तरी गोली काण्ड : रक्सी खान पैसा नदिँदा बदमास ज्वाइँले आफ्नै ससुरालाई गोली हाने

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन २४ गते ।

गोली प्रहारबाट गम्भीर घाइते भएका महोत्तरीको मनरासिसवा नगरपालिका ३ बस्ने ६२ वर्षीय सहदेवप्रसाद यादवको स्वास्थ्य अवस्थमा सुधार आएको छ ।

आइतबार विहान २ बजे घर बाहिर पिसाव गर्न निस्कँदा उनीमाथि गोली प्रहार भएको थियो । दायाँ कोखमा गोली लागि गम्भीर घाइते यादवलाई जनकपुरस्थित जानकी हेल्थकेयरमा भर्ना गरी उपचार गरिएको छ । पाँचदिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएपछि उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । उनलाई बिहीबारदेखि हस्पिटलको नर्मल वार्डमा राखेर उपचार भइरहेको छ ।

Sponsored

बदमास ज्वाइँले गोली हाने
उपचारमै रहेका घाइते सहदेवप्रसाद यादवले आफूलाई आफ्ना कान्छो ज्वाइँ महोत्तरीको औरही नगरपालिका १ का सन्तोष यादवले गोली प्रहार गरेको बताएका छन् ।

‘मध्यरातमा पिसाव फेर्न उठेको थिएँ। श्रीमती पनि म सँगै उठेकी थिइन् । मैले मोबाइलमा टर्च बालेको थिएँ । घर बाहिर निस्किँदा ३ जनालाई देवालको भित्तामा लुकेको देखेँ। एकजना मेरै ज्वाइँ थियो। हेर्ने बितिकै मोबाइलको उज्यालोमाथि २ गोली प्रहार गर्‍यो। एउटा गोली छेउबाट गयो। अर्को मेरो कोखमा लाग्यो। म ढलेँ’ घाइते यादवले टुडेपाटीसँग भने ।

जाडरक्सी सेवन गरी पटक पटक रुपैयाँ पैसा ऋण माग्ने र नदिँदा छोरीलाई कुटपिट यातना दिएको कारण ज्वाँइसँग सम्बन्ध चिसिएको घाइते यादवको भनाइ छ ।

Sponsored

‘७र८ महिना अघि ५ लाख रुपैयाँ खोजिदिन भनेका थिए। मसँग पैसा थिएन । अरुसँग दिलाइदिन खोज्दा पनि उपाय भएन । त्यसपछि पटक पटक फोन गरी तथानाम गाली, धम्की दियो। मैले पनि केहि कुरा भने । त्यहिबेलादेखि ममाथि दुस्मनी साँध्दै आएका थिए’, यादवले भने, ‘ज्वाँइ पहिलादेखि नै बदमास छन् । अन्तमा मलाई हत्या नै गर्न खोजे। भगवानको कृपाले बाचेँ। उनीमाथि कडा कारबही हुनुपर्छ ।’

घाइते यादवका २ छोरा वैदेशिक रोजगारीमा विदेश छन् । उनका दुई बुहारीसमेत घरमा नभएको बेला गोली प्रहार भएको थियो। यादव अवकाश प्राप्त शिक्षक हुन् ।

ज्वाइँमाथि किटानी
यादवमाथि गोली प्रहार गर्ने उनका ज्वाइँ सन्तोष यादवलाई प्रहरीले प्रक्राउ गरेको छ । घटना भएकै दिन साँझ उनलाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

नायव उपरीक्षक बुढाथोकीले भने ‘ससुरा ज्वाइँमा पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको अहिलेसम्मको अनुसन्धानले खुलेको छ। थप अनुसन्धान भइरहेको छ ।’

ससुरा पक्षले ज्वाइँ सन्तोषलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गाएको छ । घटनाको भोलिपल्ट घाइते यादवका भाइले ज्वाइँमाथि किटानी जाहेरी दर्ता गराएकोे प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *