प्रदेश २ : मण्डललाई हटाएर महतोलाई दलको नेता बनाउने प्रचण्ड–नेपाल समुहको तयारी
टुडेपाटी
जनकपुरधाम, पुस १७ गते ।
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको समर्थन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेताबाट मण्डललाई हटाउने तयारी गरेको हो।
शुक्रवार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य शत्रुध्न महतोले मण्डलमाथि दलका उपनेता रामकुमार यादवले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको र आइतवार हुने दलको बैठकमा बहुमत सांसदको प्रस्ताव अनुसार हटाइने जानकारी दिए ।
महतोका अनुसार १७ जना सांसदको हस्ताक्षर सहित मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभामा पूर्वमाओवादीका ११ र एमालेका २१ जना गरी ३२ जना सांसद छन् ।
Sponsored
जसमध्ये १९ जना आफूहरुको पक्षमा रहेको महतोको दावी छ । पुर्व माओवादीमध्येबाट दिलिप साह र पूर्वएमालेबाट लगनलाल चौधरी र अनिता यादव खुल्न सकेकी छैनन् ।
पूर्वमाओवादीबाट चार जना प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, मोहम्मद समीर र ज्वालाकुमारी साह ओली समूहमा लागिसकेका छन् भने प्रमिलाकुमारी यादव, फुलियादेवी सदा, भरतप्रसाद साह, रामकुमार यादव, जगतप्रसाद यादव र रुविकुमारी कर्ण प्रचण्ड–नेपाल समूहमा छन् ।
पूर्वएमालेबाट गोविन्द बहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, शत्रुधन महतो, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सिता गुरुङ गरी १३ जना आफूहरुको पक्षमा रहेको महतोले दाबी गरे ।
नेकपा नेताहरुका अनुसार मण्डललाई हटाएर पुर्व एमालेका महतोलाई नै संसदीय दलको नेता बनाउने तयारी छ । यसअघि तत्कालीन एमालेमा समेत दलका नेतामा उम्मेदवारी दिएका महतो मण्डलबाट पराजित भएका थिए ।
विगतमा सत्यनारायण मण्डलले भागबण्डामा लिप्त भई प्रदेशको प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गर्न नसकेको महतोको आरोप छ ।