उखु किसानलाई एक महिनाभित्र बक्यौता भुक्तानी दिन सर्वोच्चको आदेश
टुडेपाटी-
काठमाडौं, पुस १६ गते ।
सर्वाेच्च अदालतले उखु किसानलाई एक महिनाभित्र बक्यौता भुक्तानी दिन सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल ईजलाशले सरकारलाई एक महिना भित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम उद्योगबाट दिन दिलाउन आदेश गरेको हो ।
सर्वोच्चले सरकारको नाममा गरेको आदेशमा भनिएको छ ‘किसान भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे काठमाडौं आएर हारगुहार र धर्ना गर्नु पर्ने स्थिति आफैमा अन्यायपूर्ण मात्र नभएर लोक कल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकोले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नु पर्ने रकम उद्योगबाट उखु किसानहरुलाई भुक्तानी दिनू र दिलाउनू ।’
नेपालको संविधानको धारा १३२ (२) र सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरेको हो। आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत् विपक्षीहरुलाई दिई लिखित जवाफ पेस गर्नसमेत भनिएको छ ।
आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषयमा समेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदर मुकाम हुँदै देशको राजधानी आउन परेको आदेशमा उल्लेख छ ।
Sponsored