प्रदेश २ सरकारको निर्णय : विपन्न छोरीलाई मासिक ५ सय, प्रत्येक जिल्लामा १ सय दलित घर
टुडेपाटी समाचारदाता –
जनकपुरधाम, फागुन २३ गते ।
प्रदेश २ सरकारले आठवटै जिल्लामा दलित आबास घर निर्माण गर्ने भएको छ । शुक्रबार दिउँसो बसेको प्रदेश २ सरकारको मन्त्री परिषद बैठकले प्रदेश २ को प्रत्येक जिल्लामा एक सय दलित आबास निर्माण गर्ने निर्णय गरेको हो ।
सप्तरीबाट सुरुवात हुने दलित आबास निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइने समेत बैठकले निर्णय प्रदेश २ सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
यस्तै मन्त्रीपरिषद बैठकले ‘बेटी बचाउन बेटी पढाउ’ कार्यक्रम अन्तर्गत प्रदेश २ मा कक्षा १ देखि ८ सम्मका विपन्न दलित एवं मुस्लिम छात्रालाई मासिक पाँचसय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री यादवका अनुसार प्रदेश २ को आठवटै जिल्लाका कक्षा १ देखि ८ सम्म पढ्ने छात्राहरुलाई माकि पाँचसय रुपैयाँ छात्रवृति उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्री परिषद बैठकले प्रदेश अनुगमन तथा मूल्यांकन दिगदर्शन २०७६ लाई स्वीकृति दिएको छ । यस्तै प्रदेश २ सरकारको मन्त्रालय तथा आबास रहेको जनकपुरको मधेशभवनमा प्रादेशिक रेडियो सञ्चालन गर्न जग्गा दिने, प्रदेश मुद्रन छापाखाना निर्माण गर्ने लगायतको निर्णय मन्त्री परिषदबाट भएको मन्त्री यादवले जानकारी दिएका छन् ।
Sponsored