प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश २ कर्णालीसँग १४३ रनले विजयी
टुडेपाटी-
जनकपुरधाम, पुस १३ गते ।
प्रदेश २ ले कर्णालीलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय टीट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत फराकिलो अन्तरले पराजित गरेको छ । दाङको लमहीमा जारी चरणको प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश- २ ले कर्णालीलाई सोमबार १ सय ४३ रनले पराजित गरेको हो ।
प्रदेश- २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित हुन पुग्यो । कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहदै ४ रन जोडिन् ।
बलिङतर्फ प्रदेश -२ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३ विकेट लिए। सन्तोषी चौधरी र आरती चौधरीले पनि १/१ विकेट हात पारे। त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश -२ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
ठूलो योगफल खडा गर्ने क्रममा प्रदेश-२ का ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन्। अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन् ।
टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आलेले ६६ रनको साझेदारी गरेका थिए ।
Sponsored
यो सँगै प्रतियोगिताको समूह ए मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै यात्रा समापन गरेको छ । यता प्रदेश -२ अघिल्ला दुवै खेल हारेको थियो ।
यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनलमा पुगेका छन् ।