जनकपुरमा प्रचण्ड–नेपाल समूहको कार्यकर्ता भेला, पार्टी कार्यालयमाथि दाबी
टुडेपाटी-
जनकपुरधाम, पुस १२ गते ।
संसद विघटन भएपछि दुई खेमामा विभाजन भएको नेकपाका पार्टी कार्यालयको लागि केन्द्रदेखि जिल्ला स्तरसम्म विवाद सुरु भएको बेला जनकपुरधाममा नेकपाको प्रचण्ड–नेपाल समूहले अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
केन्द्रीय सर्कुलरअनुसार भेला आयोजना गरिएको नेकपाको केन्द्रीय सदस्य श्रवण बरबरियाले जानकारी दिए । दाहाल–नेपाल समूहले प्रदेश २ को जनकपुरधाममा रहेको पार्टीको प्रादेशिक कार्यालयमा दाबी गर्दै सोही कार्यालयमा भेला आयोजना गरेको छ ।
यद्यपि, प्रदेश २ मा अहिलेसम्म पार्टी कार्यालयको विषयमा विवाद सिर्जना न भएको बरबरियाले बताए । ओली समूह प्रदेश २ मा कमजोर भएका कारण त्यस्तो अवस्था नआएको उनको तर्क छ ।
प्रदेश २ मा ७० जना केन्द्रीय सदस्य रहेकोमा ४२ जना दाहाल–नेपाल समूहमा रहेको उनले बताए । उनले भने, ‘नेकपाको एक तिहाईको एक भागमात्रै ओली समूहमा रहेकोले हाम्रो स्थिति बलियो छ। जनकपुरधाममा रहेको प्रादेशिक कार्यालय र जिल्ला कार्यालय दुवैमा हाम्रो दाबी छ ।’
नेकपाको दाहाल–नेपाल समूहका प्रदेश समिति सदस्य झल्कु यादवका अनुसार धनुषा जिल्लाबाट प्रतिनिधित्व गर्ने १५ केन्द्रीय सदस्यमध्ये ११ जना उक्त समूहमा छन् । अगुवा कार्यकर्ता भेलापछि प्रदेश भेला गरेलगत्तै चरणबद्ध रुपमा अन्य कार्यक्रम गर्ने तयारी नेकपाको छ ।
Sponsored