संसद् विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षद्वारा आन्दोलनको कार्यक्रम घोषणा
टुडेपाटी-
काठमाडौं, पुस ९ गते ।
संसद् विघटनका विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार बसेको सो पक्षको केन्द्रीय समिति बैठकले भोलिदेखि पुस २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका लागि संघर्ष समिति गठन भएको जानकारी दिदै संघर्षलाई सशक्त पार्ने निर्णय भएको बताए ।
उनका अनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।
यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
यस्तै पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुनेछ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।
यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ ।
Sponsored
हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।