नेकपाको प्रचण्ड-नेपाल समूहले १४ पुसमा देशव्यापी विरोध प्रदर्शन गर्ने
टुडेपाटी-
काठमाडौं, पुस ९ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षीय समूहको बैठकमा केन्द्रदेखि वडा स्तरसम्मका विरोध कार्यक्रमको प्रस्ताव गरिएको छ ।
जसअनुसार भोलि (शुक्रबार) माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित निर्वाचन आयोग पुग्ने र पार्टी दर्ताको निवेदन दिने कार्यक्रम तय भइसकेको छ । त्यस्तै सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्गठनको माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा निवेदन दिने कार्यक्रम पनि तय भइसकेको छ ।
यस्तै भालि नै दिउँसो २ बजे पत्रकार सम्मेलन गरिने भएको छ । पर्सि ११ गते प्रदेश कार्य समितिको बैठक गरिने प्रस्ताव भएको छ भने १२ गते ७७ वटै जिल्लाको जिल्ला भेला गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै १४ गते राजधानी तथा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम प्रस्ताव भएको छ । बागमती प्रदेशको भने काठमाडौं केन्द्रित कार्यक्रम गर्न प्रस्ताव गरिएको छ ।
यसैगरी पुस २० गते सबै नगरमा नगर भेला आयोजना गर्ने प्रस्ताव बैठकमा गरिएको छ । पुस २५ गते वडा भेला गर्ने प्रस्ताव गरिएको छ ।
Sponsored
यस्तै बैठकमा नारायणकाजी श्रेष्ठ नेतृत्वको २५ सय सदस्यीय आन्दोलन मुल आयोजक कमिटी गठन गर्ने, प्रदेशमा पार्टीमाथि भएको आक्रमणको बारेमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तथा स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको संयोजनमा प्रदेशको आन्दोलन चलाउने प्रस्ताव बैठकमा गरिएको छ ।
प्रचण्ड-नेपाल समूहको बैठक बबरमहलस्थित एक बैंक्वेटमा बसिरहेको छ ।