TodayPati

बर्दिवासमा संसद विघटन विरुद्ध नेकपाको विरोध प्रदर्शन, संसद पुनर्स्थापनाको माग

टुडेपाटी-
बर्दिवास, पुस ५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय विरुद्ध बर्दिवासमा विरोध प्रदर्शन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महोत्तरीले आइतबार साँझ बर्दिवासमा संसद विघटनको निर्णय विरुद्ध प्रदर्शन गरेको हो ।

Sponsored

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी संसद विघटनको विरुद्ध प्रदर्शन गरेको नेकपा महोत्तरीले जनाएको छ ।

संसद विघटन गर्ने निर्णय खारेजको माग गर्दै पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन बर्दिवासको विभिन्न चोक परिक्रमा गरी मेन चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई नेकपा जिल्ला अध्यक्ष प्रकाश पोखरेलले सम्बोधन गरेका थिए ।

जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि प्रधानमन्त्री ओलीले खोसेको नेकपाका महोत्तरी जिल्ला अध्यक्ष प्रकाश पोखरेलले आरोप लगाएका छन् । दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले बहुमतको सदुपयोग गर्न नसक्दै असंवैधानिक रुपमा संसद विघटन गर्ने निर्णयको अध्यक्ष पोखरेलले ठाडो विरोध गरेको बताए ।

Sponsored

ओलीले जनादेश विपरीत ल्याएको संसद विघटन प्रस्ताव फिर्ता नलिएर भोलिदेखि महोत्तरी जिल्लाभर चरणबद्ध रुपमा प्रदर्शन गर्ने उनले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको नगरप्रमुख बिदुर कार्कीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदम विरुद्ध आन्दोलन मार्फत हामीले खबरदारी गराएका कार्कीले बताए ।

‘संसद विघटन गर्ने निर्णय खारेज गर्ने, अविलम्ब संसद पुनर्स्थापना गर्ने दिशामा अगाडि पट्टी बढाउनुपर्छ र रगतपसिना बगाएर नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने कसैको ताकत छैन’, उनले भने ।

विरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महोत्तरी अध्यक्ष प्रकाश पोखरेल, बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बल्मपाकी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *