TodayPati

प्रधानमन्त्री ओलीलाई कडा कार्वाहीको तयारी, नेकपाको साधारण सदस्यबाट समेत हटाइने

टुडेपाटी

काठमाडौँ, पुस ५ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने भएको छ ।

Sponsored

आइतबार बसेको पार्टी स्थायी कमिटीको बैठकले पार्टीको बहुमत रहेको प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयको भर्त्सना गर्दै अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले १० पुसका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक तीन दिन अघि सारेर ७ पुसमा नै बोलाएको छ । सो बैठकबाट नै ओलीमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

प्रचण्ड निकट नेताहरुका अनुसार ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कार्वाही गर्ने तयारी छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने कदमले जनता, देश र पार्टीमाथि विश्वासघात गरेको ठहर गरेको जानकारी दिए ।

Sponsored

प्रधानमन्त्री ओलीको कदम पार्टी विधानविपरीत भएकाले उनीमाथि केन्द्रीय कमिटीबाट अनुशासनको कारबाही गर्ने निर्णय गरेको उनको भनाइ छ ।

बैठकले अग्नि सापकोटा सभामुख भएपछि खाली रहेको एक स्थायी कमिटी सदस्यमा कृष्णबहादुर महरालाई सिफारिस गर्ने प्रस्तावसमेत केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।

स्थायी कमिटीको अर्को बैठक सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । आजको बैठकमा अध्यक्ष ओली र उनी पक्षीय स्थायी कमिटी सदस्यहरू भने सहभागी भएका थिएनन् ।

यस्तै, बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासमेत सहभागी भएनन् ।आइतबार मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेकी छन् । संसद् विघटनपछि प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *