प्रादेशिक अस्पताल जनकपुरमा महिला डाक्टर नहुँदा सेवाग्राही समस्यामा
दिपेन्द्रप्रसाद सिंह-
जनकपुरधाम, फागुन २२ गते ।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा महिला स्त्री तथा प्रसुति रोग विशेषज्ञको अभावले गर्दा महिला विरामी सेवाग्राही समस्यामा पर्दै आएका छन् ।
प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञमा ११ जना डाक्टर कार्यरत रहेकोमा एक जना महिला डाक्टर रुवि सिंह मात्रै रहेकी छिन् । डा। रुवि सिंह १५ दिनदेखि विदामा रहेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालमा एक जनामा मात्रै कार्यरत महिला स्त्री रोग विशेषज्ञ लामो समयदेखि विदामा रहेकाले लैंगिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरु बढी समस्या पर्ने गरेको महिला अधिकारकर्मी सिला झाले बताइन् । अस्पतालमा महिला डाक्टर नभएकाले गर्दा महिलाहरु गम्भिर समस्या भई अस्पताल जानुपर्दा पनि इच्छा विपरित पूरुष डाक्टरबाट सेवा लिनु परेको सेवाग्राहीले गुनासो गरेका हुन् ।
लैंगिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएकी २० वर्षीय युवतीको महिला डाक्टर नभएपछि स्वास्थ्य परीक्षण हुन सकेको छैन् । फागुन १८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितले लैंगिक हिंसामा परेको भनि दिएको जाहेरीपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गराउन प्रादेशिक अस्पताल जनकपुरमा लगेका थिए । तर ती युवतीले आफूलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टर महिला स्त्री रोग विशेषज्ञ नै हुनुपर्ने माग गरेपछि उनको ४ दिन वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले स्वास्थ्य परिक्षण गराउन सकेको छैन् ।
लैंगिक हिंसापीडित महिलाहरुको स्वास्थ्य परीक्षणले हाल महिला डाक्टर नभएकाले अन्य अस्पतालमा स्वास्थ्य परिक्षण गराउन सल्लाह दिएको अस्पतालका मेडिकल सुपरिटेन्ट डा। नागेन्द्र यादवले बताए । अहिले हामीसँग महिला डाक्टर नभएकाले गर्दा अन्य अस्पतालमा स्वास्थ्य परीक्षण गराउन स्पष्ट सुझाव दिएको डा। यादवले बताए ।
Sponsored
अस्पतालमा पीडितले स्वास्थ्य परीक्षणका लागि महिला डाक्टर माग गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनको स्वास्थ्य परीक्षण गराउन कुनै पहल कदमी नलिएको र मुद्धासमेत दर्ता नगरेको पीडित युवतीले गुनासो गरेकी छिन् ।