रेशम चौधरीलाई उच्च अदालतले पनि सुनायो जन्मकैदको फैसला
टुडेपाटी-
कैलाली, पुस ३ गते ।
उच्च अदालत दिपायलले पनि कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले बुधबार रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।
६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा यसअछि कैलाली जिल्ला अदालतले पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले जानकारी दिइन् ।
यसअघि ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालतले जन्मकैदकै सजाय सुनाएको छ । जिल्ला अदालत कैलालीले भने लक्ष्मण चौधरीलाई तीन वर्ष मात्रै सजाय हुने फैसला गरेको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा बसेर छुटिसकेका छन् ।
टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए । रेशम चौधरी राजपाबाट निर्वाचित प्रतिनिधि सांसद हुन् । तर टीकापुर घटनाका मुख्य अभियुक्त रहेकाले उनी निलम्बित छन् ।
Sponsored