TodayPati

विवाहपञ्चमीको चौथो दिन आज जनकपुरमा ‘सम्धी मिलन’ गरियो, भोलि मटकोर

टुडेपाटी-
जनकपुरधाम, पुस २ गते ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधामस्थित राम मन्दिरमा तिलकोत्सव ‘सम्धी मिलन’ सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत बिहीबार तिलकोत्सव विधि गरिएको हो ।

राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए । प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका थिए । दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा सम्धी मिलन भन्ने गरिन्छ ।

Sponsored

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा पुगी तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।

कोरोना महामारीका कारण यसपटक अधिकांश विधि जानकी मन्दिरमा रामलिलाको लागि बनाइएको पण्डालमा गरिए पनि तिलकोत्सव भने प्रत्येक वर्ष झै यस वर्ष पनि राममन्दिरमा गरिएको छ । तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए ।

अब विवाह पञ्चमीको पाँचौ दिन शुक्रवार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने शनिबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। आइतवार रामकलेवा गरेसँगै यस वर्षको विवाह पञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *