TodayPati

प्रदेश २ : ब्रिटानिया बिस्कुटका कामदार एक महिनादेखि आन्दोलनमा, कामदारमाथि प्रहरीको लाठीचार्ज

टुडेपाटी

जनकपुरधाम, मंसिर २६ गते ।

कामदारको माग कम्पनीले पूरा नगर्दा वीरगञ्जस्थित ब्रिटानिया नेपाल प्रालिमा २३ कात्तिकदेखि सुरु श्रमिक आन्दोलन लम्बिँदै गएको छ ।

Sponsored

२२ कात्तिकमा कम्पनीले १२ जना कामदारलाई निष्कासन गरेपछि सुरु विवादले आन्दोलनको रूप लिएको थियो ।

आफ्ना मागप्रति कम्पनी प्रशासन उदासीन देखिएको भन्दै श्रमिकहरू दिनहुँ चक्काजाम गर्न थालेका छन् ।

प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीलाई तितरबितर पारी उद्योग संचालन गराइरहे पनि कामदार अझै सशक्त आन्दोलनको तयारीमा जुटेका छन् । कर्मचारीले समयगत रोजगारी दिएका कर्मचारीलाई नियमित रोजगारको परीक्षणकालमा राख्नुपर्ने, छ महिनाको बोनसलगायतका माग गर्दा निष्कासन गरिएका कर्मचारीको पुनर्बहालीलगायतका माग उनीहरूको छ ।

Sponsored

यही २१ मंसिरमा कर्मचारीको धर्ना प्रदर्शनमा पर्साका संघीय सांसद प्रदीप यादवले समेत ऐकवद्धता जनाउँदै निष्कासित कर्मचारीलाई पुनर्बहाली गर्नुपर्ने बताएका थिए ।

कम्पनीले भने निष्कासित कामदार तथा श्रमिक नेताहरू अनुशासनहीन रहेको तथा श्रम ऐनविपरीत हुलहुज्जत गर्दै उद्योगका विभिन्न शाखाका प्रमुखसहितका कर्मचारीलाई दुर्व्यवहार तथा बन्धक बनाएको भन्दै केही कर्मचारीलाई हटाएको बताउँदै आएको छ ।

उनीहरूले कम्पनीको मालसमान तथा कच्चा पदार्थ आवतजावतमा अवरोध गरेको तथा कानुनविपरीत बन्द हड्तालमा उत्रिएको कम्पनीको भनाइ छ । ती कर्मचारीलाई कुनै हालतमा पुनर्बहाली नगरी उनीहरूको ठाउँमा अन्य कर्मचारी राख्ने अडान कम्पनीले लिएको छ ।

कम्पनी स्थापना भएको करिब अढाई वर्षकै अवधिमा श्रमिकले गरेको यो पहिलो आन्दोलन भने होइन ।

यसअघि पनि नियमित रोजगारीपत्र, बोनसलगायतका माग राख्दै श्रमिकहरूले आन्दोलन गरेका थिए । यसअघि लकडाउन अवधिको पारिश्रमिक माग्दै संघर्षमा उत्रेका श्रमिक सो विवाद समाधान भएलगत्तै अर्को माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।

पछिल्लो समय चर्केको आन्दोलन भने कम्पनी र कामदारभन्दा कम्पनीमै कार्यरत कर्मचारीबीच विवादको उपज रहेको ठानिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *