प्रदेश २ सरकारको नीति कमजोर : वीरगञ्ज यातायातको राजस्वमा कमी
टुडेपाटी-
वीरगञ्ज, मंसिर २४ गते ।
पछिल्लो वर्षहरुको तुलनामा यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पर्साको राजस्व संकलन र नयाँ सवारी दर्तामा कमी भएको पाइएको छ । प्रदेश सरकारको केही नीतिगत कमजोरीका कारण राजस्व संकलन र नयाँ सवारी दर्तामा कमी भएको पाइएको हो ।
प्रदेश २ सरकारले २०७७ का लागि ल्याएको आर्थिक विधेयकअनुसार यातायात व्यवस्था कार्यालय पर्साको राजस्व संकलन र सवारी दर्तामा कमी भएको पाइएको यातायातले जनाएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा देखिएको सवारी दर्ता र राजस्व संकलनको तथ्याँकले सरकारी नीतिले पनि प्रभाव पारेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । यति धेरै अन्यथा फरक पर्ने थिएन ।
आर्थिक विधेयकअनुसार भने नयाँ सवारी दर्ता र करबाट संकलन हुने राजस्वमा गिरावट आएको यातायात व्यवस्था कार्यालय सवारी वीरगन्ज पर्साका प्रमुख कुसेश्वर साहले जानकारी दिए ।
उनले भने, ‘साविकको नारायणी यातायात व्यवस्था कार्यालय हालको यातायात व्यवस्था कार्यालय सवारी वीरगन्जमा नयाँ सवारी दर्ता हुने क्रम नै घट्यो ।’
Sponsored
वीरगन्जमा दर्ता भई अन्यत्र सरुवा जाने सवारीमा प्रदेश २ सरकारले अतिरिक्त शुल्क निर्धारण गरेपछि यहाँ नयाँ सवारी दर्ता संख्या कमि आएको छ । त्यसैले चालु आवको पहिलो चौमासिकमा अपेक्षा गरिएको भन्दा निकै कम राजस्व संकलन भयो उनले थपे ।
यो आवमा संकलित राजस्व गत वर्षको भन्दा तुलनात्मक रुपमा ११ करोड २५ लाख १३ हजार राजस्व कम भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । गतवर्ष यो कार्यालयले पहिलो चौमासिकमा कुल ४५ करोड ४२ लाख ९८ हजार राजस्व संकलन गरेको थियो । चालु आर्थिक बर्षको साही अवधिमा भने कुल ३४ करोड १७ लाख ८५ हजार मात्र राजस्व संकलन भयो कार्यालय प्रमुख साहले बताए ।
मुलुकको पछिल्लो संरचना अनुसार प्रदेश २ सरकार मातहत रहेको यो कार्यालयबाट सरुवा जाने सवारीमाथि अतिरिक्त शुल्क लगाइएको छ । त्यसैले अधिकाँशले त्यो अतिरिक्त लाग्ने शुल्क यहाँ तिर्नुको साटो आफ्नै प्रदेशमा नयाँ सवारी दर्ता गर्न थाल्दा यहाँ नयाँ दर्ता संख्यामा पनि गिरावट आएको उनको भनाइ छ ।