TodayPati

नेकपा सरकार संघीयता समाप्त पार्ने षडयन्त्र गर्दैछ : अध्यक्ष यादव

टुडेपाटी-
जनकपुरधाम, मंसिर २० गते ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको नेकपा सरकार मुलुकवाट संघीयता र गणतन्त्रलाई लाई समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाउनु भएको छ ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघले आज जनकपुरधाममा आयोजना गरेको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यदवले मुलुकलाई धरासाही बनाउन सरकार उद्धत रहेको बताउनु भयो ।

Sponsored

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले समेत ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै प्रतिवेदन पेश गरेकाले पनि यो कुरा प्रष्ट भएको उहाँको जिकिर छ । अध्यक्ष यादवले विभिन्न कालखण्डमा व्यवस्थाहरू परिवर्तन भए पनि शासक वर्ग परिवर्तन हुन नसकेकाले उपलब्धिहरू गुम्ने खतरा बढेको बताउनुभयो । संरचनागत विभेदलाई निरन्तता दिने उद्देश्यले नै पहिचानविहीन सात प्रदेश बनाइएको समेत उहाँको आरोप छ ।

उनले मधेश जनविद्रोहवाट प्राप्त उपलव्धिहरु संस्थागत हुन्छ भने एकात्मक प्रणाली समाप्त हुने डरले विगत देखि सत्तासुखमा रमिएकाहरु चरैतिरवाट कसरी यसलाई समाप्त गरु प्रपञ्च रचि रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई व्यवस्थापन गर्न सबै दल चुकेको टिप्पणी गर्नुभयो । उहाँले संघीय सरकारद्वारा निर्मित प्रतिकुल अवस्थामा समेत काम गरेको भन्दै प्रदेश २ सरकारको प्रशंसा गर्नुभयो । नेता भण्डारीले बुद्धिजीबीहरूसँग हातेमालो गरी अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

Sponsored

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बौद्धिक वर्गका सल्लाह सुझाव लिएर अघि बढ्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीतन्त्रबाट असहयोग गराउँदै आएको संघीय सरकारले पछिल्लो समय कानुनहरू नै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको आरोप समेत लगाउनुभयो । उहाँले संघ सरकारका संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरूले कानुनी लडाईं लड्दै आएका पनि स्मरण गराउनुभयो ।

त्यसैगरी, महासंघका उपाध्यक्ष जितेन्द्र यादवले संविधानले दिएको मौलिक हकसमेत संघीय सरकारले खोस्ने काम गरेको आरोप लगाउनुभयो । कार्यक्रममा सहभागीहरूले प्रदेश सरकार बौद्धिक वर्गसँग समन्वय नगरी अघि बढेको गुनासो गरेका थिए । उनीहरूले प्रदेशमा व्याप्त बरोजगारीका साथै शिक्षा, स्वास्थ्य, कृषिसहित क्षेत्रमा विशेष ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिएका थिए । कार्यक्रममा मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेश सांसद् रामअषिश यादवका साथै विभिन्न क्षेत्रका विज्ञ तथा बौद्धिक पेशाकर्मीहरूको सहभागिता थियो । महासंघले प्रदेश २ का बौद्धिक व्यक्तिहरूसँग नेपालको वर्तमान राजनीतिको विषयमा सुझाव लिई अगाडिको रणनीति बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *