TodayPati

कोरोनाका कारण बन्द वीरगञ्ज नाकामा ८ दिनदेखि धर्ना जारी

टुडेपाटी-
वीरगञ्ज, मंसिर २० गते ।

कोरोना महामारीका कारण बन्द गरिएको पर्साको मु्ख्य नाका खुला गर्न माग राख्दै वीरगन्ज नाकामा नेपाल–भारत खुला सीमा संवाद समूहले विगत ८ दिनदेखि धर्ना दिएका छन् । आज ८ औं दिन पनि बिहान ९ बजेदेखि १० बजेसम्म धर्ना दिएका हुन् ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि बन्द गरिएको नाका मंसिर मसान्तसम्म नखुल्ने भएको छ । भारतका तर्फबाट नाका खुला गरिए पनि नेपालतर्फ बन्द नै छ । आन्तरिक रूपमा लकडाउन खुले पनि सरकारले अन्तर्राष्ट्रिय सीमानाका मंसिर मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

Sponsored

लामो समयदेखि नाका बन्द हुँदा सीमाक्षेत्रमा रहेका दुवै देशका नागरिकलाई समस्या भइरहेको भन्दै ठाउँ–ठाउँमा धर्नासहितका आन्दोलन हुन थालेको छ । सीमा बन्द रहेका कारण सामाजिक, आर्थिक, साँस्कृतिक सम्बन्धमा सीधै असर परिरहेको धर्नामा सहभागी जसपा कि नेतृ मुन्नी श्रीवास्तवले बताइन् ।

दुई देशबीच यातायात पूर्णरूपमा ठप्प छ भने अत्यावश्यक कामका लागि मानिसहरू पैदल एकअर्का मुलुकमा ओहोर–दोहोर गरिरहेका छन् ।

भारतसँग जोडिएका विभिन्न नाकामध्ये अहिले १० वटा नाका मात्र खुला छन् । नाका बन्दले गर्दा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, उपचार तथा व्यापार व्यवसायमा सीधै असर परिरहेको धर्नामा सहभागी जसपाका अर्को नेता ओमप्रकाश सर्राफले बताए ।

Sponsored

केही दिन धर्ना तथा अनशनका कार्यक्रममार्फत सरकारलाई सीमा खुला गर्न ध्यानाकर्षण गराउने, तर त्यसबाट पनि माग पूरा नभए सशक्त आन्दोलन गर्ने उनीहरूको भनाइ छ ।

यता हालसम्म कुनै पनि नयाँ सूचना नआएकाले सीमानाका सम्बन्धी केही भन्न नसकिने गृह मन्त्रालयका प्रवक्ता च्रकबहादुर बुढाले बताए । नाका खोल्न विषयमा औपचारिक निर्णय भए जानकारी दिने उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *