मोदी सरकारले ल्याएको कानुन विरुद्ध किसानले गरे मंगलवार भारत बंदको घोषणा
टुडेपाटी
जनकपुरधाम, मंसिर २० गते ।
भारतमा नरेन्द्र मोदी नेतृत्वको केन्द्रिय सरकारले ल्याएका तीनवटा कानुन खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका किसान संगठनहरुले डिसेम्बर ८ (आउँदो मंगलबार) का लागि भारत बन्दको घोषणा गरेका छन् ।
दिल्ली चलो अन्दोलन अन्तर्गत पञ्जाब र हरियाणासहितका राज्यका किसान अहिले राजधानी दिल्लीका विभिन्न सीमा नाकामा बसेका छन् । सुरक्षाकर्मीले उनीहरुलाई दिल्ली पस्न दिएको छैन ।
आफ्ना माग पूरा नगरे डिसेम्बर ८मा दिल्लीका सबै टोलहरु घेराउ गर्ने किसान संगठनले बताएका छन् ।
भारतीय किसान युनियनका नेता गुरमान सिंह चढूनीले शनिबार हुने वार्तामा केन्द्र सरकारले आफूहरुको माग पूरा नगरेमा आन्दोलन थप तीव्र र सशक्त बनाउने बताएका छन् ।
Sponsored
अर्का किसान नेता हरविन्दर लखवालले भनेका छन्, ‘हाम्रो बैठकले डिसेम्बर ८ मा भारत बन्दको घोषणा गर्ने निर्णय गरेको छ । सो दिन हामी दिल्लीका सबै टोल तथा प्लाजाहरु घेर्ने छौँ ।’
उनले अघि भने, ‘नयाँ कृषि कानून फिर्ता लिइएन भने आउँदा दिनमा हामीले दिल्ली जाने सबै मार्ग बन्द गर्ने छौँ ।’
पछिल्लो ९ दिनदेखि पञ्जाब, हरियाणासहितका राज्यबाट आएका किसान दिल्लीका विभिन्न सीमा क्षेत्रमा धर्नामा छन् ।
आन्दोलनरत किसान र सरकारबिच शनिबार पाँचौँ चरणको वार्ता हुँदैछ । यसअघि बिहीबार विज्ञान भवनमा चौथो चरणको वार्ता भएको थियो, जुन निष्कर्ष बिहीन बनेको थियो । अहिलेसम्मका वार्तामा कुनै पनि विषयमा सहमति भएको छैन ।
बिहीबारको वार्तामा किसानका ४० प्रतिनिधिले संसदको विशेष सत्र बोलाएर तीन कृषि कानून फिर्ता लिन भनेका थिए । नयाँ कृषि कानून किसान विरोधी रहेको र ती कानूनले ठूला व्यवसायिक घरानालाई फाइदा गर्ने किसानको भनाई छ । तर सरकारले भने नयाँ कानूनले किसानलाई नयाँ अवसर प्रदान गर्ने दाबी गर्दै आएको छ ।