TodayPati

कक्षा १२ को फारम भर्नुअघि नै ११ को परीक्षा लिन बोर्डको निर्देशन

टुडेपाटी-
काठमाडौं, मंसिर १९ गते ।

नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फारम भर्नु अघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् ।

पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नु अघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको काम विद्यालयले सक्नुपर्ने कार्यतालिका रहेको छ ।

Sponsored

कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा रहेको यसअघिको कक्षा १२ को परीक्षा भने लिइसकेको छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित छलफल गरिने उनको भनाइ छ ।

शैक्षिक सत्रको गणना कहिलेबाट कसरी गर्ने भन्ने विषयमा मन्त्रालयसित कुराकानी गरेर टुङ्गो लगाउनुपर्ने अवस्था रहेको उनले बताए ।

बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण बोर्डले जनाएको । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।

Sponsored

कक्षा ११ को परीक्षा तीन घण्टाकै सञ्चालन हुनेछ । यसका साथै एक सय पूर्णाङ्कको नै परीक्षा हुनेछ । यस पटक कक्षा १२ को परीक्षामा ४० पूर्णाङ्क र डेढ घण्टामा परीक्षा लिए पनि कक्षा ११ का विद्यार्थीलाई भने त्यो सुविधा दिइएको छैन ।

कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि यस पटक मात्रै नभई दीर्घकालीन रूपमा हेरेर निर्माण गरिएका कारण तीन घण्टाको परीक्षा र सय पूर्णाङ्ककै परीक्षा लिने गरी व्यवस्था गरिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *