मुकेश चौरसिया हत्या काण्डमा दुईजना पुर्पक्षका लागि जेल चलान
टुडेपाटी-
पर्सा, मंसिर १८ गते ।
नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या अभियोगमा दुई जना पुर्पक्षका लागि जेल चलान भएका छन् । पर्सा जिल्ला अदालतले अखिलेश भनिने अशेसर प्रसाद चौरसिया र उत्तम भनिने निरञ्जन तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै पक्राउ परेका अन्य दुईजना २ लाख धरौटी र एकजना नबालक रहेको भन्दै साधारण तारेखमा रिहा भएका छन् । थुनछेक बहासपछि जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले चौरसिया र तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।
हनिफ मियाँ र देवा सहनीसँग २÷२ लाख रुपैयाँ धरौटीमा बुधबार नै रिहा भएको अदालतले जनाएको छ ।
गएको कार्तिक ६ गते नेकपाको पर्साको विन्दबासिनी गाउ कमिटिको सपथ ग्रण समारोहमा दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका जिल्ला समिति सदस्य तथा गाउँकमिटी सचिव मुकेश चौरसियाको भोलि पल्ट उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा दुई पक्षबाट १ बालक सहित २८ जना विरुद्ध मुद्धा दर्ता भएको थियो । प्रहरीको राय प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले संविधान सभा सदस्य राजकुमार गुप्ता सहित ७ जनाविरुद्ध मुद्धा चलाएको थिएन । बाँकी १६ जनालाई प्रहरीले अझै पक्राउ गरेको छैन ।
Sponsored