भ्रष्टाचार विरुद्ध कडा रुपमा अघि बढ्नुपर्छ : प्रदेश सांसद महतो
टुडेपाटी –
जनकपुरधाम, फागुन २० गते ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य शत्रुधन महतोले समाजवाद तर्फ अघि बढ्नका लागि भ्रष्टाचार अन्त्य गर्नु आवश्यक रहेको बताएका छन् ।
मंगलबार जनकपुरधाममा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन प्रदेश नम्बर २ को एकताको ११ औँ प्रदेश अधिवेशनलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै प्रदेशसभा सदस्य समेत रहेका नेता महतोले समाजवाद उन्मुख हुनका लागि राज्यले आर्थिक समृद्धि र भ्रष्टाचार विरुद्ध कडा ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।
विद्युत प्राधिकरणले व्यवस्थित ढंगले गरेको कामले जनताको मन जित्न सफल रहेको भन्दै उनले मुलुक पनि समाजवाद तर्फ अग्रसरताका लागि आर्थिक क्रान्तिमा फड्को मारेको भन्दै प्रशंसा समेत गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठुलाठुला माछालाई हात नलगाउनु दुर्भाग्य रहेको बताए । उनले भने,‘अब अख्तियारले ठुला माछाहरुलाई समात्नु पर्यो । अनि मात्र भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्यका लागि केहि खुड्किला पार हुनेछ ।’
अब जनतालाई भाषण भन्दा पनि व्यवहारिकरुपमा नेता र सरकारले काम गरेर जनताको मन जित्नु आवश्यक रहेको उनको धारणा थियो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका केन्द्रिय संयोजक रामेश्वर पौडेलले ज्यालादारीमा काम गर्ने कर्मचारी र कार्यालयको कामको शिलशिलामा मृत्यू तथा अपांगता भएका कर्मचारीका लागि विशेष व्यवस्था हुने बताए । ज्यालादारीमा काम गर्ने कर्मचारीलाई स्थायी कर्मचारी सरह सेवा सुविधा तथा संचय कोषको व्यवस्था हुनुपर्ने उनको जिकिर थियो । विद्युतको माध्यमले राज्यमा वर्षेनी अर्बौको फाईदा भईरहेकोले २० प्रतिशत रकम कर्मचारीको संचयकोषमा जम्मा गर्नु सरकारसंग माग गरे ।
यूनियनका प्रदेश २ अध्यक्ष विश्व नारायण मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा यूनियनका केन्द्रिय सह–संयोजक खगेन्द्र शाही,पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तथा प्रदेश २ संयोजक योगेन्द्र यादव,नेपाल विद्युत प्राधिकरण प्रदेश २ का प्रमुख मनोज कुमार सिंह लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
दई दिनसम्म चल्ने बन्द सत्रमा प्रदेश २ को ८ वटै जिल्लाबाट करिब ५ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिती छन् ।
Sponsored