सर्लाहीमा ट्रकको ठक्करबाट युवाको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
टुडेपाटी
सर्लाही, फागुन २० गते ।
सर्लाहीमा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएपछि स्थानीय बासिन्दाले पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका-४ सासापुर गणेश चौकमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध स्थानीय बसिन्दाले गरेका हुन् ।
मंगलबार मध्यान्हदेखि सासापुरस्थित पूर्व-राजमार्ग ठप्प भएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीले यातायात व्यवसायीलाई मंगलवार बिहान छलफलमा बोलाएर मृतकका परिवारलाई कानुन बमोजिमको राहत रकम उपलब्ध गराउने र घटनाको अनुसन्धान गर्ने सहमति गरेको थियो। तर यातायात व्यवसायी सम्पर्कमा नआएपछि स्थानीय पुनः राजमार्गमा भेला भएर चक्काजाममा उत्रिएका हुन् ।
Sponsored
सोमबार राती पूर्वबाट आइरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका-४ तिनघरे निवासी २२ वर्षीय रोशन भुजेलको मृत्यु भएको थियो। उक्त ट्रकको ठक्करबाट अर्को मोटरसाइकलमा सवार दुईजनासमेत घाइते भएको स्थानीय बासीले बताए ।
हरिवन नगरपालिका-४ का वडाध्यक्ष धनबहादुर वाइबाले शव ईलाका प्रहरी कार्यालय हरिवनमा रहेको जानकारी दिएका छन् । घाइतेहरुको उपचार लालबन्दीमा भइरहेको उनले बताए । भिड अनियन्त्रित भएकाले राजमार्ग जाम खुलाउने प्रयास असफल भएको वडाध्यक्ष वाइबाको भनाई छ ।
चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौर नेतृत्वको सुरक्षाकर्मी टोली घटनास्थलमा खटिएको छ ।
आगजनीबाट ट्रक पूर्ण ध्वस्त भएको छ। हिजै साँझ साढे ७ बजेदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको बताइएको छ । प्रहरी नायव उपरीक्षक राठौरले अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भइरहेको बताएका छन् ।