प्रहरीको गोलीले एकजनाको मृत्यु भएपछि बर्दिबासमा बिहानैदेखि प्रदर्शन, राजमार्ग अवरुद्ध
टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।
बालिका बलात्कार तथा हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि बर्दिबासमा पुनः आन्दोलन सुरु भएको छ । बुधबार बिहानैदेखि स्थानीयले बजार र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।
प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।
बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कार पश्चात हत्याको विरोधमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले अन्धाधुन्ध गोलि चलाउँदा संजय न्यौपानेसहित तीनजना घाइते भएका थिए । संजयको उपचारको क्रममा काठमाडौ स्थित ग्राण्डी हस्पिटलमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिबासमा किराना पसल संचालन गरेका न्यौपाने बर्दिबास सेवा समितिका सदस्य समेत थिए । बुधबार बिहानै बर्दिबास सेवा समितिमा बसेका स्थानीयहरुको छलफलबाट न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको मागसहित आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ ।
यस्तै सुरक्षा निकायको रणनीति विषयमा अहिले अहिले जिल्ला सुरक्षा समितिको बैठक समेत चलिरहेको छ ।
Sponsored