जानकी मेडिकलका कर्मचारीको माग पुरा गर्न स्वास्थ्यकर्मी संगठनहरुको तीनदिने अल्टिमेट
टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गते ।
आमरण अनशनमा बसेका जानकी मेडिकल कलेज शिक्षण अस्पततालका दुई जना कर्मचारीको मागप्रति धनुषा जिल्लाका स्वास्थ्यकर्मी संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।
अनशनरत कर्मचारीद्वयको मागप्रति नेपाल स्वास्थ्यकर्मी संघ धनुषा, नेपाल स्वास्थ्यकर्मी फोरम धनुषा, नेपाल स्वास्थ्यकर्मी युनियन धनुषा र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन धनुषाले ऐक्यवद्धता जनाएको हो ।
ती संगठनहरुले कर्मचारीहरुको माग पूरा गर्न सम्बन्धीत पक्षलाई तीनदिने अल्टिमेटमा समेत दिएका छन् । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी संगठनहरुले अनशनरत्त कर्मचारीको मागप्रति ऐक्यवद्धता जनाउँदै ७२ घण्टा भित्र वार्ता र सम्वाद मार्फत उनीहरुको माग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
सरोकारवाला निकाय तयार नभएको खण्डमा चरणवद्ध रुपमा संघर्षको कार्यक्रम समेत घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ । कलेजका कर्मचारीद्धय जानकीशरण यादव र कुलदीप साह गएको कार्तिक १६ गतेदेखि आमरण अनशनमा बसेका हुन् ।
दुबैजनाको स्वास्थ्य अवस्था खराब भएपछि प्रादेशिक अस्पतालको आइसियुमा भर्ना भएका छन् । तर आमरण अनशनलाई जारी राखेका छन् । यद्धपि सम्बन्धीत पक्षबाट अहिलेसम्म कुनै वास्ता नदेखाएको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले दुःखेसो पोखेका छन् ।
Sponsored
कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्ने र केहि कर्मचारीमाथि पूर्वाग्रही तरिकाले गरिएको कारबाही फिर्ता लिनु पर्ने कर्मचारीहरुको माग छ ।