TodayPati

अर्थमन्त्री युवराज खतिवडा सहित १८ जना सांसदको कार्यकाल सकियो, आज विदाइ हुँदै

टुडेपाटी
काठमाडौँ, फागुन २० गते ।

दुइवर्षे कार्यकाल पुरा गरी १८ जना सांसदहरु आज विदा हुँदैछन् । अर्थमन्त्री युवराज खतिवडा सहित नेकपा, काँग्रेस, राजपा, र समाजवादी पार्टीका सांसदहरुको कार्यकाल आजदेखि सकिन लागेको हो । विदा हुनेहरुमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

दुईवर्षे कार्यकाल सकिने कांग्रेसका सदस्यहरुमा सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडा रहेका छन् । दुईवर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ । यस्तै नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिदै छ ।
यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।
राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुको सपथ ग्रहण मंगलबार हुँदैछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *