जनकपुरमा २० दिनदेखि अनशनरत मेडिकलका कर्मचारीको अवस्था नाजुक, अनशनमै किन बस्नुपर्यो ?
रोहित महतो –
जनकपुरधाम, मंसिर ५ गते ।
जानकी मेडिकल कलेजका कर्मचारी जानकीशरण यादव र कुलदीप साह विभिन्न माग राख्दै २० दिनदेखि अनशन बसिरहेका छन् । लामो अनशनले उनीहरूको स्वास्थ्य अवस्था दिनदिनै बिग्रिँदै गएको छ । तर, उनीहरूले हिम्मत हारेका छैनन् । कलेजको बेतिथिविरुद्ध अन्तिम श्वास रहुन्जेलसम्म लड्ने उनीहरूले बताएका छन् ।
‘मालिक बेइमान भए, उहाँलाई पैसाभन्दा अरू केही ठूलो लाग्दैन । अब अति भयो । कलेजमा पढाइ, कर्मचारीमाथि शोषण र बिरामीको सेवामा सुधार नभए प्राण त्याग्छौँ तर पछि हट्दैनौँ । ज्यानकै बाजी लगाएको छु । जबसम्म श्वास रहन्छ, तबसम्म आस पनि छ,’ जानकीशरणले भने ।
तलब, छ वर्षको सञ्चय कोष, दसैँभत्ता, हिसाबकिताबको पारदर्शिता, कलेजको शैक्षिक तथा उपचार सेवामा सुधारलगायतका माग राख्दै १६ कात्तिकदेखि उनीहरू अनशन बसेका हुन् । उनीहरू प्रादेशिक अस्पताल जनकपुरको आईसीयूमा संकटपूर्ण जीवन बाँचिरहेका छन् । तर, उनीहरूको जीवनरक्षाका लागि कलेज तथा सम्बन्धित निकायले चासो देखाएको छैन । कलेज तथा सरकोकारवाला निकायका प्रतिनिधिले वार्ता त परै जाओस् उनीहरूको स्वास्थ्य स्थिति बुझ्न र सोधपुछ गर्नसमेत आएका छैनन् ।
‘१७ वर्षदेखि कलेजमा काम गर्दै आएको छु । जस्तोसुकै परिस्थिति र संकटको घडीमा पनि कलेजमा काम गरेको छु, साथ दिएको छु तर अहिले हामी मर्यौँ कि बाँचेका छौँ, कोही हेर्न आएका छैनन्,’ उनले दुःखेसो पोखे ।
Sponsored
विभिन्न चरणको आन्दोलन र धर्नापछि समेत माग पूरा नभएपछि उनीहरू कलेज परिसरमै रहेको मन्दिरमा अनशनमा बसेका थिए । तर, स्वास्थ्य अवस्था बिग्रेको जानकारी पाएकाे प्रहरीले ११ दिनपछि दुवैलाई प्रादेशिक अस्पताल लगेर भर्ना गरायो ।
‘अपहरणको शैलीमा हामीलाई धरपकड गर्दै प्रहरीले इमर्जेन्सीमा भर्ना गरे । साथीहरूको आग्रहमा ३ घण्टापछि हामीलाई आईसीयूमा भर्ना गरियो,’ अनशरत कुलदीप साह सम्झिन्छन्, ‘हामीलाई अस्पताल जानुपर्ने भयो भनेको भए आरामले एम्बुलेन्स चढेर जान तयार थियौँ तर प्रहरीले तानाशाही व्यवहार देखायो । हामीलाई डर लाग्यो कि प्रहरीले कतै कारबाही गर्न पक्रेको त होइन ?’
किन आयो अनशन नै बस्नुपर्ने स्थिति ?
२०७५ फागुनमा कलेजको नियमावलीअनुसार वृद्धि भएको २५ प्रतिशत बढोत्तरीसहित तलब, हरहिसाब पारदर्शी, आठ महिनासम्मको बाँकी वक्यौता तलब भुक्तानी, चार वर्षको सञ्चय कोष तथा दसैँभत्ता माग्दै कर्मचारी आन्दोलित भए । कलेजले श्रमशोषण गरेको भन्दै उनीहरूले हातमा कालो पट्टी बाँधेर माग पूरा नभए अस्पतालको अत्यावश्यक सेवाका साथै कलेजको प्रशासन शाखामै तालाबन्दी गर्ने चेतावनी दिए ।
कलेजले आन्दोलन स्थगित गर्न आग्रह गर्दै वार्ताका लागि कर्मचारीलाई आह्वान गर्याे । १४ फागुनमा कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेय र कर्मचारी हकहित संरक्षण मञ्चद्धारा गठित वार्ता समितिबीच चारबुँदे सहमति भयो ।
१५ चैत २०७५ सम्म सम्पूर्ण कर्मचारीले व्यक्तिगत हरहिसाब लिन पाउने, चार वर्षकाे वक्यौता, दसैँ पेश्की तथा दुई महिनादेखि बाँकी रहेको तलबभत्ता कलेजका अध्यक्ष पाण्डेयबाट मिनाहा गरिदिने अनुरोधअनुसार वार्ता समितिले निकास निकाल्ने, २०७४ सालदेखि नियमअनुसार (लागू भएको २५ प्रतिशत) तलब वृद्धि २०७५ फागुनको तलबदेखि समायोजना भइ भुक्तानी गर्ने, २०७४ कात्तिकदेखि २०७५ माघसम्मकाे २५ प्रतिशत वृद्धि तलबवापतको सम्पूर्ण वक्यौता चैत मसान्तभित्र भुक्तानी गर्ने र कर्मचारी सञ्चय कोषबापतको सम्पूर्ण बाँकी वक्यौता २०७६ जेठ मसान्तभित्र भुक्तानी गरिसक्ने र फागुनदेखि मासिक सञ्चय कोषको रकम दाखिला गर्दै जाने सहमति भएको थियो । तर, तोकिएको समयभित्र सहमति कार्यान्वयन नभएपछि कर्मचारी फेरि आन्दोलनको तयारीमा जुटे ।
आन्दोलनको तयारी भएपछि वार्ता समिति र कलेजका अध्यक्ष तथा व्यवस्थापनबीच सहमति कार्यान्वयका लागि ८ जेठ २०७६ जेठमा फेरि पाँच बुँदे अर्को सम्झौता भयो । १४ फागुन २०७५ मा भएको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न १५ असार २०७६ सम्म म्याद थप गरियो ।
यस्तै, २०७५ चैत र २०७६ वैशाखको तलबभत्ता तथा सञ्चय कोषसहित जेठ १८ गतेभित्र भुक्तानी भइसक्ने र त्यसपछिका महिनामा समायोजन गरिएको नयाँ तलबभत्ता र सञ्चय कोष नियमित रूपमा भुक्तानी गर्दै जानेसमेत सम्झौता भयो । तर, सहमति कार्यान्वयन हुन नसकेपछि कलेज र वार्ता समितिबीच पटक-पटक गरी सहमति कार्यान्वयनका लागि २०७६ भदौ मसान्तसम्म म्याद थप गरियो ।
सो सहमति कार्यान्वयन नभएपछि कर्मचारी हकहित संरक्षण संघर्ष समितिले २० माघ २०७६ मा विगतमा भएको मौखिक तथा लिखित सम्झौता कार्यान्वयनका लागि कलेजलाई ध्यानाकर्षण पत्र लेख्याे । तर, ती सहमति कार्यान्वयनका लागि कलेज प्रशासन तथा व्यवस्थापकले चासो देखाएनन् । ‘सहमति गर्याैँ तर हामीलाई पनि आर्थिक समस्या भयो । विद्यार्थीबाट पैसा उठेन । त्यहीँ भएर समयमा हामीले माग पूरा गर्न सकेनौँ,’ कलेजका प्रशासन प्रमुख दयानन्द झाले भने ।
कलेजसँग भएको अघिल्लो सहमति कार्यान्वयन नहुँदै संघर्ष समितिका संयोजक उमेश यादवले कोरोना महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता, जीवन बीमा तथा आवश्यक पीपीईको व्यवस्था गर्न आग्रह गर्दै कलेज प्रशासनलाई पत्र लेखे । विगतमा भएका मौखिक तथा लिखित सम्झौता समेत यथाशीघ्र कार्यान्वयन गर्न सो पत्रमा फेरि पनि ध्यानाकर्षण गराइएको थियो । तर, महामारीमा खटिने स्वास्थ्यकर्मी तथा डाक्टरको मनोबल गिराउन कलेजले आफूहरूको माग सुनुवाइ नगरेको कर्मचारीको आराेप छ ।
किन बसे कर्मचारी अनशनमा ?
भदौ १२ गते समितिले फ्रन्टलाइनमा खटिने कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री, जीवन बीमा, जोखिम भत्ता, संक्रमित कर्मचारीको उपचार खर्च माग गर्दै कलेजलाई चिठ्ठी लेखे । सो चिठीमा विगतमा भएका सम्झौता कार्यान्वयन नभए एक सातापछि दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइयो ।
कलेजले सहमति कार्यान्वयन नगरेपछि गएको भदौ २६ गते समितिले कलेजको लेखा, प्रशासनिक तथा शैक्षिक क्रियाकलाप ठप्प गर्ने निर्णय गर्दै तालाबन्दी गरे । त्यसपछि कलेज प्रशासनले कर्मचारीले अस्पतालको प्रशासनिक तथा उपचार सेवामा अवरोध गरेको भन्दै ताला खोल्न जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिए ।
गएको भदौ ३१ गते दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा लेखापाल राखेर हरहिसाब पारदर्शी गर्ने, बन्दी खुलाउने र असोज मसान्तभित्र कलेजको आधिकारिक व्यक्तिले सञ्चयकोष, दसैँ भत्तालगायतका माग सम्बोधन गर्ने तीनबुँदे सहमति भयो ।
११ असोजमा कर्मचारीले हिसाब गर्न कलेजमा लेखापाल पठाउने तयारीमा थिए । तर, सोही दिन कलेजले कलेजमा तालाबन्दी, अनलाइन कक्षा सञ्चालनमा अवरोध, सामाजिक सञ्जाल तथा मिडियामा अनधिकृत रूपमा सूचना किन प्रवाह गरेको भन्दै संघर्ष समितिका संयोजक यादवलाई स्पष्टीकरण सोधे । संयोजक यादवलाई पूर्वाग्रही ढंगबाट किन स्पष्टीकरण सोधेको भन्दै स्पष्टीकरण फिर्ता लिन माग गर्दै १२ गतेदेखि कलेज परिसरमै कर्मचारी धर्नामा बसे ।
कलेज प्रशासनले १५ गते फेरि सोही स्पष्टीकरण माग्दै चिट्ठी पठाए । कलेजले निराधार आरोप लगाएको र व्यक्तिगत रूपमा नभई सम्पूर्ण कर्मचारीको तर्फबाट आन्दोलन गरिरहेको भन्दै यादवले पहिलो चिट्ठीको जवाफ २२ गते फर्काए । एक्लैले बन्द हडताल नगरेको र सम्झौता पूरा नहुँदा सम्पूर्ण कर्मचारी व्यवस्थापन पक्षसँग जायज माग पूरा गर्न माग गर्दै धर्ना बसेको २९ असोजमा उनले दोस्रो चिट्ठीको जवाफ फर्काए ।
२१ गते फेरि कलेजले जवाफमा चित्त नबुझेको भन्दै तेस्रो चिट्ठी काटे । यादवले फेरि जवाफ फर्काए । तर, २९ असोजमा अचानक कलेजले संघर्ष समितिका संयोजक यादवलाई संस्थाबाट हटाइएको पत्र काटे । कात्तिक ६ गते धर्नामै बसेकी रेडियो टेक्नोलाेजिस्ट अन्जु पटेललाई समेत बर्खास्त गरेको र कर्मचारीहरू जयकुमार यादव, राजनरायण यादव, वीरेन्द्र कुमार झा, कुलदीप साहलाई स्पष्टीकरण सोधिएको पत्र काटियो । कलेज व्यवस्थापनको श्रम शोषण र ज्यादतीविरुद्ध जानकी शरण र कुलदीप आमशण अनशनमा बसे ।
२०६० सालदेखि सुरक्षा गार्डको रूपमा काम थालेका जानकीशरण हाल कलेजको गार्ड प्रमुख छन् । कलेजले समयमा तलबभत्ता, सञ्चयकोष र दसैँभत्ता नदिँदा घरपरिवार चलाउनै मुस्किल परेको अनशनरत उनको गुनासो छ ।
यसका साथै मेडिकल कलेजमा विषयगत शिक्षक तथा आवश्यक प्राविधिक उपकरणसहित स्तरीय पठनपाठन, सस्तो सुलभ मूल्यमा उपचार सेवा र कर्मचारीमाथि ज्यादती बन्द गर्नुपर्ने अनशनको मुख्य माग रहेको उनले सुनाए । ‘यति पीडा सहेर अनशन बस्ने के हाम्रो रहर हो ? दिनभरि मिहिनेतले कमाएको पैसा लिन हामीले बारम्बार आन्दोलनै गर्नुपर्ने ? महिनौँदेखि तलब नपाउँदा हाम्रो घरबार कसरी चल्छ ? कति दिन ऋण काढेर खाने ?,’ उनले भने, ‘दुई वर्षदेखि कलेजले सहमति गर्छ तर कार्यान्वयन गर्दैन । ज्यादतीविरुद्ध बोल्नेलाई कलेजले जति बेला मन लाग्छ, हटाइदिन्छ । धाकधम्की दिन्छन् । स्थायी कर्मचारी हटाएर करारमा कर्मचारी भर्ना गरिहाल्छ । हाम्रो माग पूरा नहुन्जेल सत्याग्रह जारी रहनेछ ।’ एक वर्षभित्र कलेजले करिब २ सय कर्मचारीलाई निष्कासन गरेको उनको भनाइ छ ।
यस्तै, सीएमए पदमा भर्ना भएका कुलदीप साह हाल इमर्जेन्सी शाखामा कार्यरत छन् । उनलाई कलेजले काममा बाधा अड्चन पुर्याएको र काम किन नगरेको भन्दै स्पष्टीकरण सोधेको छ । कलेजको शैक्षिक तथा अस्पताल सेवामा सुधार, समयमा तलबभत्तालगायतका माग राख्दा यसअघि पटक-पटक निष्कासन गरिदिने धम्की दिएको र पछिल्लो समय संयोजक उमेशलाई बर्खास्त गरी आफूहरूलाई पनि हटाउन खोजेको उनको आरोप छ । तर, कलेजका प्रशासन प्रमुख दयानन्द झाले भने नियमअनुसार काम नगर्ने र बारम्बार कर्मचारीलाई आन्दोलनमा उस्काउने कर्मचारीलाई नियमअनुसार नै हटाइएको र स्पष्टिकरण सोधेको दावी गरे । व्यक्तिगत स्वार्थ पूरा गर्न संघर्ष समितिका संयोजक यादवले नै दुवै जना कर्मचारीलाई अनशनमा बस्न लगाएको बताए । उमेश यादवलाई निष्कासित गरिएको विषयबाहेक अनशनरत कर्मचारीले वार्ता गर्न चाहे आफूहरू वार्ताका लागि तयार रहेको उनले बताए ।
‘जिल्ला प्रहरीमा सहमतिपछि उमेश यादवलगायतका केही कर्मचारीले ओपीडीमा काम गर्ने कर्मचारीलाई डिस्टर्ब गर्न थालेपछि मैले स्पष्टीकरण मागे । पिकआवरमा कर्मचारीसँग गुटगत मिटिङ गर्न थाले । बाहिरको समयमा गर्दा हुन्थ्यो नि,’ झाले भने, ‘जवाफ नदिएर फेरि मेरो कक्षमा तालबन्दी गरे । डाक्टर र केही केही कर्मचारीलाई काम नगर्न धाकधम्की दिन थाले । फेरि मैले अर्को चिट्ठी काटे । उचित जवाफ नआएपछि उमेश र अन्जु पटेललाई बर्खास्त गरिदियौँ ।’
उमेश सुरुदेखि नै व्यवस्थापकहरूलाई डर धम्की देखाउँदै बेलाबेला सहयोगस्वरुप पैसा माग्दै आएको उनको आरोप छ । कोरोना महामारी कालमा केही डाक्टरको तलब दिए तर आर्थिक समस्याले अन्य कर्मचारीको तलब तीन महिनासम्म मात्र रोकेको उनको भनाइ छ ।
‘सञ्चय कोष बाँकी छ । त्यसका लागि हामीले सहमति गरेका थियौँ । तर महामारीमा कलेक्सन भएन । उनीहरूले उमेशलाई निसर्त पुन: बहालीको माग राख्यो । अनि मात्र वार्ता गर्ने कुरा गरे । त्यसरी वार्ता हुन्न,’ उनले थपे, ‘उमेश यादवले जानकीशरण र कुलदीपलाई मोहरा मात्र बनाए । उमेश अनशन बस्नुपर्थ्याे नि ।’
विद्यार्थीसँग लिन बाँकी रहेको करिब ३२ करोड वक्याैता रकम उठेपछि दसैँ भत्ता र सञ्चय कोषको रकम दिने उनले बताए ।
तर कलेजले हरहिसाब पारदर्शी गरिदिए तत्काल आफूले राजीनामा दिन तयार रहेको संघर्ष समितिका संयोजक यादव बताउँछन् । ‘राज्यपक्षले अनशनलाई गम्भीरतापूर्वक लिएको छैन । उनीहरू मरे कि बाँचे सोध्ने व्यवस्थापन समितिको तर्फबाट पनि कोही आएको छैन,’ उनले भने, ‘आजको मितिसम्म काम गरेको र छोडेका सम्पूर्ण कर्मचारीको हरहिसाब दिइयो भने म तत्काल राजीनामा दिन तयार छु । मैले पटकपटक अनशन तोड्न आग्रह गरेको छु तर उहाँहरूले मान्नुभएको छैन। मेरो व्यक्तिगत स्वार्थ भएको भए यति लामो अनशन बस्दैनथे ।’
कलेजले एक जना डाक्टरको ३५ लाख रुपैयाँसम्म तलब बाँकी राखेको उनको भनाइ छ । ‘कलेज अहिले उधारो वार्ता गर्न चाहन्छ सायद । दुई महिनापछि माग पूरा गर्ने सहमति गर्छ र मलाई हटाइदिन्छ भने भोलिका दिनमा कर्मचारीको हकहितका लागि कसैले बोल्ने हिम्मत नगरुन देखाउन चाहन्छ,’ यादवले थपे, ‘१३ वर्षसम्म कलेजमा म एकदमै ठीक थिए । तर कर्मचारीको हकहितका लागि बोल्दा एक महिनामै तीन पटक चिठ्ठी काट्ने ? यदि मैले भनेको कुरा गलत हो भने आउनुस् डिबेट गरौँ ।’
तिहार, दिपावली, छठजस्ता ठूला पर्वमा पनि अनशनरतकाे अवस्था बुझ्न नआउने उनीहरूमा मानवता नै बाँकी नरहेको उनले उल्लेख गरे । कलेजले कर्मचारीमाथि गरेकाे अत्याचारको पर्दाफास गर्दा व्यक्तिगत लान्छना लगाउन उत्रिएको यादवको दाबी छ । उसो त दुई वर्षअघि समेत पटकपटक त्यहाँका कर्मचारी तथा डाक्टरले अस्प्तालमा तालाबन्दी र धर्नामा बसेका थिए ।
माग पूरा नहुँदा उनीहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका थिए । प्रशासन कार्यालयमा मेडिकल कलेजले गरेको शोषणविरुद्ध उजुरीको चाङ नै लागेको छ । तर, तीमध्ये केहीले तलब तथा सेवासुविधा पाए पनि अधिकांशले नपाएको त्यहाँका कर्मचारी बताउँछन् । अनशनरत कर्मचारीको जीवन रक्षाका लागि वार्ता गर्न दुवै पक्षलाई पटकपटक आग्रह गरे पनि तयार नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । ‘वार्ता गर्न नमान्दा जसरी पनि मानिसलाई उपचार गरेर बचाइरहेका छौँ । सरकारी अड्डा भएको भए म पनि सिधा हस्तक्षेप गर्थे । गर्ने त उनीहरूले नै हो,’ उनले भने ।