TodayPati

धनुषामा दुई समुदायबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते

टुडेपाटी-
जनकपुरधाम, कात्तिक ३० गते ।

धनुषाको नगराइनमा फेरि दुई समुदायबीच भएको झडपमा दुई दर्जन व्यक्ति घाइते भएका छन् । दीपावली अर्थात शनिबार राति नगराइन नगरपालिका वडा नं. ७ लवटोली गाउँमा भएको विवाद आइतबार झडपको रुप लिँदा हिन्दु र मुस्लिम समुदायका दुई दर्जन व्यक्ति घाइते भएको हो ।

झडपमा हिन्दु पक्षका १३ जना र मुस्लिम पक्षका ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । झडपमा मानिसहरु घाइते हुनुको साथै घरको सामानहरुको समेत तोडफोड भएको हो । घाइते सबैको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

Sponsored

हिन्दुतर्फ घाइते हुनेमा शिवचन्द्र यादव, मुकेश यादव, दर्शन यादव, अंकुश यादव, गंगा प्रसाद शर्मा, रामपुकार यादव, रामकिशोर यादव, रंजितकुमार ठाकुर, नवल यादव, ललन यादव, देवलाल यादव र रञ्जित यादव रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै, मुस्लिम तर्फका घाइते हुनेमा अब्दुल नादाफ, सलाम नादाफ, मोमिना खातुन, समसुदीन नादाफ, बर्दि नादाफ, अख्तर मन्सूर, सदाम हुसैन, मो.अमजद नादाफ, संजदा खातुन र सदुला खातुन रहेका छन् ।

शनिवार दिपावलीको दिन साँझ हिन्दुपक्षले मस्जिद तर्फ पटाखा छोडेकोले त्यसलाई रोक्दा विवाद भएको घाइते मुस्लिपक्षको दाबी छ भने हिन्दुपक्षले आफूहरु पूजा गरिरहेको क्रममा प्रहरी लगाएर पुजा बन्द गराएको कारण विवाद उत्पन्न भएको बताएका छन् ।

Sponsored

झडपको क्रममा दुवै पक्षबाट लट्ठी र घरेलु हतियार प्रयोग भएको स्थानीयहरुले बताएका छन् । घरेलु हतियारहरुको प्रयोगको कारण घाइतेको संख्या बढिरहेको उनीहरुको भनाइ छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेशकुमार बस्नेतका अनुसार विवाद मिलाउन प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रसहितको टोली घटना स्थलमा रहेको बताएका छन् ।

यसैबीच नगराइन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादवले प्रहरीकै कारण यो विवाद झडपमा परिणत भएको बताए । ‘प्रहरी विवाद सल्टयाउनुको सट्टा पुजा बन्द गराएर विवाद उत्पन्न गराएको र झडपको क्रममा समयमा उपस्थित नहुँदा उग्र रुप लिएको थियो,’ उनले भने ।

केही दिन अघि पनि सोही ठाउँमा हिन्दु युवकले दाहाको तस्विर सामाजिक सञ्जालमा राखेको भन्दै विवाद भएर झडपको रुपमा परिणत भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *