जनकपुरबाट ५८ बोतल एसिडसहित पसले पक्राउ, यस्तो छ एसिड सम्बन्धी नयाँ कानून
टुडेपाटी-
जनकपुरधाम, कात्तिक ३० गते ।
जनकपुरबाट ५८ बोतल एसिडसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान मात्रै जनकपुरमा भएको एसिड आक्रमण घटनामा धनुषा प्रहरीले अनुसन्धानको क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको हो ।
बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
एउटा बोतलमा ७ सय ५० एमएलको मात्रामा एसिड भेटिएको हो । एसपी बस्नेतका अनुसार आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेको खुलेको छ । विराटनगरमा बिक्री गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बरामद गरिएकाे एसिड करिब साढे ४३ लिटर रहेकाे प्रहरीले बताएकाे छ ।
‘शनिबार आफ्ना पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानमा जुटेका थियौं’,एसपी बस्नेतले भने, ‘त्यही क्रममा सन्जिवले नागेन्द्रबाट एक बोतल एसिड किनेर लगेको भेटियो ।’
यस्तो छ एसिड प्रहार सम्बन्धी नयाँ कानून
Sponsored
सरकारले एसिड खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानून सजायसहितको अध्यायदेश नै जारी गरेको छ ।
नयाँ कानून अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्ने जारी अध्यादेशमा वयवस्था गरिएको छ ।
नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ । नयाँ कानुन आइसकेपछि पहिलोपटक धनुषामा एसिड प्रहारको घटना भएको हो ।
एसिड आक्रमणकारी र यसको अनुमतिबिना बिक्रीवितरण गर्नेै सन्जिव र नागेन्द्रमाथि नयाँ कानुन अनुसार कारबाही हुनेछ ।