TodayPati

आज दीपावली

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

यमपञ्चकको तेस्रो दिन आज दीपावली । कात्तिक कृष्ण औँसीको दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । आजै बिहान कुकुर तिहार पर्व पनि मनाइँदै छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

Sponsored

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी साँझ दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाउने प्रचलन छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

Sponsored

आज साँझ युवा युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन्। भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान दिए पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।

यसैबीच यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरित प्रचारप्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *