सुसाइड नोट लेखेर बेपत्ता रहेका डा. झा काभ्रेमा सकुशल भेटिए, भक्तपुर ल्याइँदै
टुडेपाटी-
जनकपुरधाम, कात्तिक २५ गते ।
फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका चिकित्सक भेटिएका छन् ।
भक्तपुरको ‘द डेन्टल सिटी’ अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा मंगलबार बिहानदेखि बेपत्ता भएका थिए । उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै लामो सुसाइड नोट समेत पोस्ट गरेका थिए । बिहान ५ बजेतिर निस्किएका उनको खोजीमा प्रहरी लागेको थियो । आज दिउँसो काभ्रेको ५५ किलो भन्ने ठाउँमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन् ।
‘उहाँ सकुशल फेला पर्नु भएको छ । काभ्रेबाट टोलीले भक्तपुर ल्याउँदैछु’, एसपी थापाले भनिन् ।
सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ । बिहान ५ बजेतिर घरबाट निस्किएका उनको मोबाइलको अन्तिम लोकेसन भने काभ्रेको पनौतीमा देखिएको छ । त्यसपछि भने उनको मोबाइल अफ भएको छ ।
झाको खोजीमा भक्तपुरसहित काभ्रे प्रहरी समेत परिचालन गरिएको थियो ।
Sponsored