मिथिला परिक्रमा यात्री कञ्चनवन पुगेर होली मनाउँदै
टुडेपाटी-
जनकपुरधाम, फागुन १८ गते ।
मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुगेको छ । शनिवार महोत्तरीको ध्रुवकुण्डमा बासबसेका परिक्रमा यात्री आइतबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुगेको हो ।
कञ्चनवन आएका परिक्रमा यात्रीलाई भंगहा नगरपालिका लगयात स्थानीयहरुले भव्य स्वागत गरेका छन् । भंगहा नगरपालिका प्रमुख संजिवकुमार साहले परिक्रमा सहभागी साधुशन्तलाई फुलमाला र अविर लगाइ सावगत गरेका छन् ।
अहिले परिक्रमामा सहभागिहरु एकअर्कालाई रंग अविर लगाइ होली खेल्दै नाचगान गरीि रमाइरहेका छन् । कञ्चनवनमा त्रेतायुगमा भगवान राम सीताले होली खेलेको धार्मिक विश्वास छ । सोही अनुसार यहाँ मिथिला परिक्रमा आइपुगेपछि होली खेल्ने परम्परा छ । यहाँ होली खेलेपछि मिथिलाञ्चल लगायत तराई मधेशमा विधिवत होली पर्व सुरुवात हुने गर्दछ ।
आज परिक्रमा यात्रु कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचामा बाँस बस्छन् । यो परिक्रमाको आठौ पडाव स्थल हो ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट धनुषाको कचुरी स्थित मिथिलाविहारी मन्दिरबाट सुरु हुने महाकुम्भ परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर अन्तरगृह परिक्रमा गरि फागु पूर्णिमाको दिन सम्पन्न हुनेछ ।