विहारमा आज अन्तिम चरणको मतदान जारी, अबको मुख्यमन्त्री नितिश कि तेजस्वी ?
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २२ गते ।
भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत तेस्रो तथा अन्तिम चरणको मतदान आज जारी छ । यो चराणमा बिहारका १६ जिल्लामा ७८ सिटका लागि मतदान भइरहेको हो ।
पछिल्लो अपडेट अनुसार ७.६२ प्रतिशत मतदान भइसकेको छ । बिहारका लगभग अधिकांश मुसलमान समुदायले यो चरणमा मतदान गर्दै छन् ।
तेस्रो चरणको चुनावमा उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक समता पार्टी, असुद्दीन ओवेसीको एआईएमआईएम, मायावतीको बिएसपी र पूर्व सांसद पप्पू यादवको जनअधिकार पार्टी पनि प्रतिस्पर्धामा छन्।
सन् २०१५ को चुनावमा यी ७८ सिटमध्ये ५४ सिटमा जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र कांग्रेस गठबन्धनले प्राप्त गरेको थियो ।
यस्तै एनडिएमा रहेका भाजपा, एलजेपी, आरएलएसपी र जीतन राम माझीको हिन्दुस्तान आवाम पार्टीले २४ सिट जितेका थिए ।
यसमध्ये सबैभन्दा धेरै १९ सिट भाजपाले पाएको थियो । यो पटक महागठबन्धनमा जेडियू छैन र एलजेपी एनडिएको साथमा छैन ।
बिहारमा २४३ विधानसभा सिट छन्। नीतिश कुमार चौथो पटक मुख्यमन्त्री बन्ने होडमा छन् । उनलाई लालु यादवका कान्छो छोरा तेजस्वी यादवले चुनौति दिएका छन् ।