गौशालाका मेयर शिवनाथ महतोले अढाई लाख घुस लिएर ‘चेक काण्ड’ मिलाएको खुलासा
टुडेपाटी
महोत्तरी, कार्तिक २२ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको घटना अढाई लाख रुपैँया घुस लिएर मिलाइएको खुलेको छ ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामाले मिलेर घटना मिलाएको खुलासा भएको हो ।
‘मुख्य अभियुक्त कर्मचारी वडाध्यक्षको छोराले मेयर–उपमेयरको खुट्टा समाएर माफी मागे र अढाई लाख रुपैँया घुस दिएर घटना मिल्यो,’ नगरपालिका स्रोतले भने ।
त्यहाँका नेकपाका केही नेताले मेयर महतो र उपमेयर लामालाई घुस दिने सेटिङ मिलाएको बताइएको छ ।
तर घटना मिलेको सुइको पाएपछि दशैँको बेला अख्यितयार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले फाईल लगेको खुलेको छ ।
नगरपालिकाले उजुरी नगरेपछि नगरका एक स्थानीयले गोप्य उजुरी दिएको अख्तियारले जनाएको छ ।
मोटो रकम कमिसन खाएर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर उपभोक्तालाई चेक दिइएको थियो ।
योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो ।
पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार दिइएको थियो ।
किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।
९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको थियो । कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको थियो ।
कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो ।
नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । मेयर र उपमेयरले पैसा लिएर जघन्य अपराध मिलाउने गरेको घटनाले गौशाला नगरपालिकाका स्थानीयहरु आक्रोशित भएका छन् ।
‘हरेक योजनामा मेयरलाई २० प्रतिशत र उपमेयरलाई पनि त्यहीँ हिँसाबले कमिसन चाहिन्छ । कर्मचारीले पनि घुस खाएको छ । प्रमाण सहित घटना बाहिरहँदा पैसा लिएर मिलाईन्छ । यस्ता भ्रष्टले गौशाला चल्दैन् । राजीनामा दिनुपर्छ,’ स्थानीय चन्दन साहले भने ।
तर घुस लिएको विषयमा उनले विपक्षीले हल्ला फिजाएको बताए । अख्तियारले फाइल लगेर अनुसन्धान गरिरहेको मेयर महतोको भनाई छ ।