भारतीय सेना प्रमुख नरवणे तीनदिने भ्रमणकालागि आज नेपाल आउँदै
टुडेपाटी
काठमाडौँ, कार्तिक १९ गते ।
भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज (बुधबार) काठमाडौं आइपुग्दै छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउने भएका हुन्।
उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।
नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
Sponsored
नेपालका सैन्य मामिलाका जानकारहरुले पनि नाकाबन्दीमा जस्तै यो पटकको सीमा विवादमा पनि सैन्य कुटनीतिले संवादहीनता अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरेका छन् ।
नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भारतीय सेनाध्यक्ष नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने दाबी गरेका छन् ।
भारतले पनि आफ्नो सेना प्रमुखले बुधबारदेखि गर्ने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने बताएको छ ।
भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न संचारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्य सम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका छन् ।