पत्रकार कुटपिट प्रकरण : जनकपुरका मेयर साहसहित दुईजना विरुद्ध अदालतमा मुद्दा
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १६ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित दुईजना विरुद्ध अदालतमा मुद्दा दायर भएका छन् ।
गएको वर्ष पुस २२ गते भएको पत्रकार कुटपिट प्रकरणमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसहित दुईजना विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएको हो ।
मेयरको कार्यकक्षमा उनकै उपस्थितिमा पत्रकारहरु कुटिएको विषयलाई लिएर तीन जना पत्रकारले संयुक्त रुपमा मुद्दा दर्ता गराएका छन् ।
कान्तिपुर टिभीका प्रदेश २ संयोजकसमेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टिभीका अमरकान्त ठाकुर र एपी वान टिभीका प्रदेश संयोजक विकास साहले संयुक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमहानगरपालिकाकै सवारी चालक गंगा मण्डलविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
गत पुस २२ गते कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, एपी वान टिभीका पत्रकार विकास साह लगायतका पत्रकारहरु जानकी मन्दिरको फूलबारीको सम्बन्धमा प्रतिक्रिया लिन पुग्दा उनको कार्यकक्षमै कुटपिट भएको थियो ।
Sponsored
पत्रकार कुटपिट प्रकरणमा मेयर साहबिरुद्ध लागेको मुद्दामा दोषी ठहरे उनलाई दुई वर्षको कैद सजाय वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।