राजतन्त्र फर्काउ राजावादीहरु जनकपुरको सडकमा उत्रिए, देशव्यापी अभियान सुरु
टुडेपाटी
जनकपुरधाम, कार्तिक १५ गते ।
राजतन्त्र फर्काउने भन्दै राजावादीले देशव्यापी अभियान शुरु गरेका छन् । राजतन्त्र फर्काउनका लागि राजावादीहरुले आफ्नो सक्रियता बढउँदै निरन्तर र्याली निकाल्ने लगायतका कार्यक्रम आयोजना गर्ने बताएको छ ।
जसअन्तर्गत राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार जनकपुरमा र्याली निकालेका छन् । राजतन्त्र समर्थकहरुको र्यालीले जनकपुरधाम नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नाराबाजीसमेत गरेका थिए । र्यालीमा सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर, भ्रष्टाचार अन्त्य गर, हत्याहिंसा बलात्कारजस्ता जघन्य आपराधिक घटना नियन्त्रण गर लगायतका नारा लगाएका थिए ।
राष्ट्रवादी नागरिक समाजको उक्त अभियानका संयोजक चन्द्रबहादुरले देशमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको, बलात्कार, हत्याहिंसा जस्ता घटनाहरु दिनदिनै बढ्न थाल्दा समेत सरकार मुकदर्शक बनेको भन्दै राजतन्त्र नै फर्काउनुपर्ने दाबी गरे ।
उनले अहिलेका संसदीय दलहरुबाट देशलाई बचाउन सक्ने अवस्था नरहेकाले देशले राजतन्त्रको खाँचो महशुस गरेको उनको भनाइ थियो । उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी महाअभियान जारी रहने बताइन् । उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दाबीसमेत गरिन् ।
Sponsored