महोत्तरीमा मेयरकै अगाडी भएको झडपमा नेकपा नेता सहित तीनजना गम्भीर घाइते, प्रहरी पनि कुटिए
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १३ गते ।
महोत्तरीमा मेयरकै उपस्थितीमा नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का नेतामाथि आक्रमण भएको छ । मटिहानी नगरपालिकाका प्रमुखको उपस्थितिमा भएको आक्रमणमा परी दुई जना गम्भीर घाइते भए पनि अहिलेसम्म कार्वाहीको प्रक्रिया अगाडि बढेको छैन।
आक्रमणमा परि पछिल्लो प्रतिनिधिसभाका निर्वाचनमा नेकपा प्रत्यासी रहेका मटिहानी– ८ का ५७ वर्षीय विजय चौधरी र उनका भाई ४८ वर्षीय जितेन्द्र चौधरी तथा मटिहानी– ७ का ५३ वर्षिय गणेश प्रसाद साह घाइते भएका हुन् । नेता चौधरी हाल डिस्चार्ज भइसकेपनि जितेन्द्र र गणेशको अवस्था गम्भीर रहेको बताइएको छ । काठमाडौँस्थित ट्रमा सेन्टरमा उनी दुबैजनाको उपचार भइरहेको छ ।
कात्तिक १० गते दसैंका दिन राति मटिहानी–७ मा दुई पक्षबीच विवाद भएको थियो। नगर प्रमुख मण्डल पक्षधर तथा मटिहानीकै केही स्थानीयहरुको समूह एउटा रेष्टूराँमा बसेका बेला उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर विवाद भएको थियो।
विवादले उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली पुगेको थियो । तर, प्रहरीको टोलीमाथि नै हातपात भएपछि प्रहरीले लाठी चार्ज गरेर दुबैपक्षलाई तितरवितर पारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘अर्कोपक्षले नगरमा विकासभन्दा पनि भ्रष्टाचार मौलाई रहेको भनेपछि मेयर पक्ष उत्तेजनामा आएको थियो,’ प्रत्यक्षदर्शी अमीत चौधरीले भने ‘विवादलाई साम्य पार्न प्रहरीको टोली त पुग्यो तर उल्टै उनीहरु प्रहरीमाथि नै जाइ लागे।’
Sponsored
लाठीचार्जबाट दुबै पक्षका केही व्यक्ति घाइते भए पनि यसबारे प्रहरीले अनभिज्ञता प्रकट गरेको छ।
दुई दिनको उपचारपछि घर फर्केका विजय चौधरीको दाबी अनुसार नगरप्रमुख मण्डल पक्ष र अर्को गुटबीच राति करिब ९ बजे झगडा भएको थियो।
‘त्यहीबीच प्रहरीको लाठीबाट केही व्यक्ति घाइते भएको थाहा भएपछि घाइतेलाई भेट्न म राति साढे १० बजे पुगेको थिएँ,’ विजय चौधरीले भने, ‘घाइतेलाई भेटेर फर्किंदै गर्दा हामीमाथि नगर प्रमुख मण्डलको उपस्थितिमा सांघातिक आक्रमण भयो।’
नगर प्रमुख सहितको ठूलो समूह गाडीबाट आएर एकाएक गालामा थप्पड हानेको र त्यसपछि शैलेन्द्र मण्डल भन्ने व्यक्तिले आफ्नो घाँटीमा छुरा प्रहार गरेको चौधरीको भनाइ छ । उनी भन्छन्, ‘तर छुरा घाँटीको छेउमा मात्रै लागेकोले म बाँचे ।’
अन्य दुई घाइतेकोे शरीरका विभिन्न भागमा छुरा प्रहार भएकोले उनीहरुको अवस्था सिकिस्त रहेको चौधरीले बताए ।
चौधरीले भने, ‘केही दिनदेखि नगरपालिकाका कामबारे वडावडामा जागरण अभियान चलाइरहेको थिएँ । नगर प्रमुख त्यसबाट अत्तालिएर गुण्डा लगाएर आक्रमण गराएका हुनससक्छन् । अरु रिसइबी केही थिएन ।’
तर उता उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको नगर प्रमुख मण्डलको दाबी छ । उनले दुई पक्षबीच विवाद भए पनि उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताए ।
‘घटनामा मेरो कुनै संलग्नता छैन तर पनि विपक्षीहरु राजनीतिक प्रतिशोधका कारण मेरो नाम मुछिरहेका छन्,’ नगरप्रमुख मण्डलले भने, ‘मेरै पक्षका ६ जना घाइते भएका छन्, यस्तो बेला घटना मैले गराएको भन्नु हास्यास्पद हो ।’ नगर प्रमुख मण्डलले उक्त घटनामा कोही कसैले छुरा प्रहार गरेको नभई दुई पक्षबीच हात हालाहाल मात्रै भएको जिकिर गरे ।
यता विवाद मिलाउने क्रममा केही प्रहरीहरु नै घाइते भएको कुरो बाहिरिए पनि प्रहरीले भने अनभिज्ञता प्रकट गरिरहेको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीसँग जानकारी लिन खोज्दा उनले घटनाबारे अनुसन्धान भईरहेको बताए। घटना भएको तीनदिन भइसक्दा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।