इरानका उपराष्ट्रपति र उपस्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २१० पुग्यो
टुडेपाटी
तेहरान, फागुन १७ गते ।
इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ। इरानमा शुक्रबारसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा २ सय १० जनाको मृत्यु भएको बीबीसीले जनाएका छन् ।
इरानको राजधानी तेहरान र कोम सहरमा कोरोना भाइरसको संक्रमण ब्यापकरुपमा फैलिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यसअघि त्यहाँ कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो। तर एकैदिनमा यो तथ्यांक ६ गुणाले बढेको बीबीसीको समाचारमा उल्लेख रहेकोे छ ।
यसैबीच इरानका उपराष्ट्रपति मासोमेह इब्तेकर, उपस्वास्थ्यमन्त्री इराज हरिर्ची र दुई जना सांसद्मामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इरानमा पहिलो व्यक्तिमा सङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो। अहिले राजधानीसहित देशको २४ प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
Sponsored
त्यस्तै कोरोना भाइरसको संक्रमणले विश्वभरि मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी चिनियाँ छन् भने दोस्रोमा इरान रहेको देखिएको छ ।