सरकारविरुद्ध विप्लवको देशव्यापी संघर्षको घोषणा, यस्तो छ कार्यक्रम
टुडेपाटी-
काठमाडौं, कात्तिक ५ गते ।
सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । कोभिड १९ महामारीबाट प्रताडित जनतालाई राहत दिनुको सट्टा राज्यले न्यूनतम दायित्वबाट पन्छिने कार्य गरेको भन्दै त्यसविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
पार्टीका महासचिव विप्लवले बुधवार एक विज्ञप्ति जारी गर्दै संघर्षका विशेष कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रमअन्तरगत कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस गर्ने उल्लेख छ ।
विप्लवले सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । ‘कोभिड महामारीको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउनुको सट्टा सरकार स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको दायित्वबाट समेत पन्छिने कार्य अत्यनै निष्कृष्ट र अमानवीय विषय हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सम्पूर्ण जनतालाई कोभिडको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’
साथै महामारीमा पनि ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायतलाई आर्थिक सुविधा दिन समेत माग गरिएको छ। सरकार र सम्बन्धित निकायले स्वास्थ्य संकटलाई पनि भ्रष्टाचार गर्ने माध्यमका रुपमा प्रयोग गरेको भन्दै जनस्वास्थ्यमा खेलबाड नगर्न चेतावनी दिएको छ ।
Sponsored