सिडिओ र एसपीले दशैँभर जिल्ला छोडेर जान नपाउने, गृहमन्त्रालयले दियो यस्तो निर्देशन
टुडेपाटी
जनकपुरधाम, कार्तिक ४ गते ।
सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइनुपर्ने हुन सक्ने औंल्याउँदै दसैंको बेला बिदा नबस्न निर्देशन दिएका छन् । चाडपर्वका बेला आवागमन बढ्दा संक्रमणको जोखिम पनि वृद्धि हुन सक्ने गृहले औंल्याएको छ ।
‘जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपाय गर्न गराउन दसैं बिदाको अवधिमा प्रजिअ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिइसकिएको छ,’गृहको विज्ञप्तिमा भनिएको छ ।
गृहको परिपत्रसँगै प्रजिअहरूलाई बिदा बस्न रोक लागेको छ । गृहले निर्देशन दिनुभन्दा अघि नै सुरक्षा निकायले मातहतका सबै युनिटलाई परिपत्र गरेर चाडपर्वमा कर्मचारीलाई बिदा नछाड्न सर्कुलर गरिसकेको छ । गृहले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न पनि आम सर्वसाधारणसँग आग्रह गरेको छ ।
Sponsored
आवश्यक कामबाहेक घर बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, भोजभतेर नगर्न तथा जो–जहाँ छ, त्यहीँ बसेर पर्व मनाउन पनि आग्रह गरेको छ । यसैबीच गृह मन्त्रालयले कफ्र्यु र संकटकाल घोषणा नहुने भएकाले हल्लाका पछि नलाग्न पनि आग्रह गरेको छ ।