TodayPati

प्रदेश २ : घरबाटै प्रदेशसभा बैठकमा सहभागी भएका सांसदले पनि लिए दिनको हजार रुपैँया भत्ता

टुडेपाटी

जनकपुरधाम, कार्तिक ३ गते ।

प्रदेश २ का प्रदेशसभा सदस्यहरुले घरबाटै सहभागी भएको प्रदेशसभा बैठकको समेत भत्ता लिएका छन् । कोरोना महामारी नियन्त्रण तथा रोकथामकालागि सरकारले लकडाउन घोषणा गरेपछि घरमै बसेर भर्चुअल माध्यमबाट सदननको काम कार्वाहीमा सहभागी भएकाले सांसदले प्रति बैठक १ हजार रुपैयाँ भत्ता बुझेका हुन् ।

Sponsored

लकडाउन अवधिको समयमा भीडभाड गर्न नहुने संघीय सरकारको मार्गदर्शन भएका कारण शुरूमा प्रदेश सभाको बैठक स्थगित भयो । तर नेपालको संविधानमा भएको प्रावधान अनुसार असार १ गते जसरी पनि प्रदेश सभामा प्रदेश सरकारको बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश गर्नुपर्ने प्रावधानका कारण जेठ २१ गतेदेखि असार ३१ गतेसम्म संसद बैठक बसेको थियो ।

२ नम्बर प्रदेशमा १०७ जना सांसद छन् । यस्तो अवस्थामा प्रत्येक राजनीतिक दलबाट बढीमा ७ जना सांसद मात्र संसदमा उपस्थित हुने र बाँकी सांसदले ‘जूम’मार्फत बैठकमा भर्चुअल रूपमा सहभागी हुने गरी बैठक सञ्चालन गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी अरुणकुमार झाले बताए ।

‘प्रदेशसभा नियमावलीमा संशोधन गरेर सूचना तथा प्रविधिमार्फत समेत प्रदेशसभा बैठक सञ्चालन गर्न सकिने भनेर प्रदेश सभाबाट पारित गरिएको थियो,’ झाले भने, ‘त्यस अनुसार बैठकमा भौतिक रूपमा उपस्थित भएका सांसद होस् वा आफ्नो घरबाट नै सूचना प्रविधिमार्फत उपस्थित हुनुभएका माननीयज्यूहरू सबैले बैठक भत्ता पाउनुभएको हो ।’ भर्चुअल बैठक पनि संसदको अन्य बैठकसरह नै भएका कारण सांसदले बैठक भत्ता बुझेका उनले बताए ।

Sponsored

संसद बैठकमा प्रतिबैठक १ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । चौथो अधिवेशनका कूल ३१ वटा बैठक बसेका थिए । जसमध्ये नीति तथा कार्यक्रम पारित भएको दिन ८२ जना सांसद संसद बैठकमा भौतिक रूपमा उपस्थित भएका थिए । ‘बाँकी दिनको बैठकमा १२–१५ जना सांसद भौतिक रूपमा उपस्थित हुने र अरु सांसदहरू घरबाट नै सूचना प्रविधि प्रयोग गरेर बैठकमा उपस्थित हुनुभएकाले उहाँहरूलाई बैठक भत्ता दिइएको थियो,’ प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले भने ।

कुन सांसद तथा कति जना सांसद बैठकमा उपस्थित थिए भन्ने कुराको यकिन सचिवालयको आईटी शाखाले दिएको प्रतिवेदन अनुसार भत्ता दिने गरिएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *