प्रदेश २ मा चाडपर्व लक्षित गरि स्कर्टिङ सहित विशेष सुरक्षा योजना, साढे १० हजार प्रहरी खटाइने
टुडेपाटी
जनकपुरधाम, असोज ३० गते ।
प्रदेश २ मा मेला तथा भिडभाडमा रोक लगाउँदै प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ । दशैँ, तिहारको बेला अप्रिय घटना तथा शक्तिपीठहरुमा भिडभाड रोक्न प्रदेश प्रहरी कार्यालय जनकपुरले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
चुस्ता सुरक्षा व्यवस्थाकालागि प्रदेश २ का आठवटै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईँले बताए । विगतमा आपराधिक घटना भएका ठाउँमा विशेष निगरानी गर्ने गरी सुरक्षा–व्यवस्था मिलाएको उनको भनाइ छ ।
चाडपर्वको समयमा यात्रुको चाप हुने तथा सार्वजनिक सवारीसाधनमा ओहोरदोहोर बढी हुने भएकाले प्रहरीले पथलैहियादेखि कोसीसम्म पूर्व–पश्चिम राजमार्गमा सुरक्षा–व्यवस्था कडा पारेको जनाएको छ । राजमार्गका विभिन्न स्थानमा ३३ वटा यात्रु सहायता कक्ष निर्माण गरिएको छ । यात्रु सहायता कक्षमा रहेका सुरक्षाकर्मीले समस्यामा परेका यात्रुलाई सहयोग गर्नुको साथै सवारीसाधनको चाँजसमेत गर्नेछन् ।
यात्रु तथा सवारीसाधनको सुरक्षा–व्यवस्था मिलाउने काम यात्रु सहायता कक्षबाट हुने एसपी प्रसाईंले बताए ।
यसका साथै सादा पोसाकमा पनि प्रहरी परिचालन हुने उनले बताए । सहरदेखि ग्रामीण क्षेत्र तथा सीमानाकाहरूमा समेत प्रहरी गस्ती बढाइने उनको भनाइ छ । दसैँ–तिहारको अवसरमा विभिन्न संघसंस्थाले दसैँ–तिहारमा मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै गर्ने गरेका छन् ।
Sponsored
तर, यस वर्ष भने त्यस्ता कार्यक्रम गर्न नपाइने भएको छ । दसैँमा जनकपुरको राजदेवी मन्दिर, महोत्तरीको सोनामाई स्थान, सप्तरीको कंकालिनी मन्दिरलगायतका स्थानमा भिडभाड हुने गरेको छ ।
बर्सेनि करिब १५ हजारसम्म बोका बलि दिने गरिएको जनकपुरको राजदेवीमा यस वर्ष धनुषा जिल्ला सुरक्षा समितिले केही दिनअघि नै सूचना निकालेर त्यसमा रोक लगाइसकेको छ ।