रौतहटको सामुदायिक विद्यालय अंग्रेजी माध्यमको नाममा शुल्क असुल्दै
टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।
रौतहटको एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा विद्यार्थीबाट पैसा असुल गरको छ । सरकारले शिक्षाको पहुँच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेपनि कतिपय विद्यालयले आफुखुशी पैसा असुल्ने गरेको पाइएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन नपाउने व्यवस्था रहेपनि रौतहटको गौरमा रहेको देशकै जेठोमध्येको एक जुद्ध उच्च माध्यमिक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानुनी रुपले शुल्क उठाउने गरिएको छ ।
विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराएका छ तर अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुले बोर्डिङ्ग स्कुलमा जस्तै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थी तथा अभिभावकले गुनासो गरेका छन् ।
एउटै विद्यालयमा दुई थरिको शिक्षाले सार्वजनिक विद्यालयभित्र पनि धनी र गरीबको वर्गीकरण भएको स्थानीय बताउँछन् । एउटै भवनभित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउँदै मासिक शुल्कसहितको विद्यालय संचालन हुँदासमेत सम्बन्धित निकायले वेबास्था गरेको स्थानीयवासीको आरोप छ ।
विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा नामांकनको तीन सय, मासिक शुल्क सात सय, परिचय पत्र कार्डको १२० र परीक्षा शुल्क एक सय रुपैयाँका दरले रकम उठाएको छ ।
Sponsored
कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७२० रुपैयाँ लिएको विद्यालयले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ ।
विद्यार्थी संगठनहरुले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
यता, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा आफूहरु समस्यामा परेको जुद्ध उच्च माध्यमिक विद्यालयका प्राधानाध्यापक चन्देश्वर राउतले बताएका छन् ।
विद्यार्थी सँख्या अत्यधिक भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै श्रोतमा अंगे्रजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप ३०० देखि ७०० सम्म शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए ।
अंग्रेजी माध्यममा पठापाठन गराउने शिक्षकहरुको तलबसमेत न्यून रहेको उनको भनाइ छ ।